पोखरा । नेपालका राजनीतिक दलले सुधार्नुपर्ने ठाउँ धेरै रहेको प्रा.डा. कृष्ण हाछेथुले बताएका छन् । शनिबार पोखरामा भएको नेपालको लोकतन्त्र र राजनीतिक दल विषयमा  प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीतिशास्त्र सूर्यरत्न शाक्य प्रतिष्ठान, राजनीतिशास्त्र विभाग, पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा  प्रा.डा. हाछेथु रहेका थिए । उनले विश्वको राजनीति सँगै नेपालको लोकतन्त्र  र राजनीतिक दलको विषयमा प्रकाश पारे  ।

नेपालको राजनीतिक दललाई दक्षिण एसियाका राजनीतिक दलसँग तुलना गर्दा असन्तुष्ट हुनुपर्ने अवस्था भने नरहेको उनले बताए । नेपालको संविधानको राजनीतिक दल खण्डमा रहेको निर्वाचन सम्बन्धी व्यवस्था र समावेशी प्रतिनिधित्व व्यवस्था सुन्दर पक्ष रहेको खुलाए । नेपालका दलहरूबीचमा वार्ता संवाद भैरहनु समेत दक्षिण एसियाका लागि उदाहरणीय बनेको सुनाए । यहाँका  राजनीतिक दलको सुध्रिने र सुधारिन पक्ष समेत अरुको लागि सिकाइ हुनसक्ने बताए ।

उनको प्रवचन पश्चात  राम्जी पराजुली, ध्रुव केसी, पुष्कर राम सारु, डा. श्रीकान्त खतिवडा, सुमन शर्मा, केशवशरण लामिछाने, अर्जुन पोखरेल, सन्तोष न्यौपानेले जिज्ञासा राखेका थिए । उनीहरूका जिज्ञासालाई  समेत प्रमुख वक्ता प्रा.डा. हाछेथुले मेटाए । उनले प्रतिष्ठानलाई वार्षिक रुपमा सहयोग गर्ने वाचा समेत गरे ।

प्रतिष्ठानका अध्यक्ष डा.गिरधारी दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  सचिव भिमनाथ बरालले गरेका थिए । अध्यक्ष दाहालले प्रतिष्ठानको स्थापना र गर्ने गतिविधिका बारेमा प्रकाश पारे । सोही कार्यक्रममा विशिष्ट व्यक्तित्व सम्मान प्रा.डा.हाछेथुलाई अर्पण गरियो भने जयराम बानियाँलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0