पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएसँगै रास्वपाका कार्यकर्ता र सहकारी पीडितले छुट्टाछुट्टै प्रदर्शन तथा धर्ना गरेका छन् । पोखरास्थित मानवअधिकार चोकमा जम्मा भएर रास्वपाका केन्द्रीयस्तरका नेता कार्यकर्तासहित रवि लामिछानेका समर्थकरुले शनिबार नाराबाजी गरे ।

कार्यक्रममा बोल्दै रास्वपाका शीर्ष नेताहरूले राजनीतिक प्रतिशोधका कारण सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाए । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु, टेरामक्स लगायत प्रकरणमा संलग्न देखिएकाहरूमाथी सरकारले छानविन नगरी सहकारी प्रकरणमा लामिछानेलाई मात्र पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको जिकिर गरे ।

 ‘हाम्रो सभापतिमाथि प्रतिशोध साँध्न पक्राउ गरिएको हो, यसैका विरुद्ध हामीले आज विरोध सभा आयोजना गरेका हौँ,’ उनले भने, ‘अनुसन्धानमा हाम्रो सहयोग रहन्छ, तर प्रतिशोध साँध्न पाइदैन।’

पोखरा गैह्रपाटनस्थित जिल्ला प्रहरी कार्यलय कास्की अगाडि सहकारी पण्डितहरूले धर्ना दिए । रास्वपाको प्रदर्शनले लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस् भनेर खबरदारी गर्न पीडितहरूले धर्ना दिएका हुन्। सहकारी बचत पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले रवि लामिछाने दोषी हुन् वा निर्दोष हुन् भन्ने कुराको प्रमाणित अदालतले गर्ने भएकाले अनुसन्धान प्रभावित नहोस् भन्ने खबरदारीका लागि धर्ना दिएको बताए ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार बेलुका काठमाडौँमा पक्राउ गरीस्थलमार्गबाट पोखरा ल्याएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि पेस गरिने जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0