पोखरा । पोखरामा सारङ्गी उत्सव कार्यक्रम हुने भएको छ । कार्तिक ९ गते शुक्रबार हुने यो कार्यक्रमको आयोजना राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीले गर्न लागेको हो । कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिएको राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीका अध्यक्ष सुनिल गायकले कोटखबरलाई जानकारी दिएका छन् ।
जस्मिन पेन्ट्सले मुख्य प्रायोजन गरेको कार्यक्रम पोखरा इभेन्ट सेन्टर बुँलौदी पोखरामा दिउँसो ३ बजेबाट सुरु हुनेछ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा कर्खा ब्यान्डको प्रस्तुति रहनेछ । यो ब्यान्डले स्व. झलकमान गन्धर्व, अग्रज सङ्गीतकार पूर्ण नेपाली र स्व. धन बहादुर गायकका कालजयी गीतहरू प्रस्तुत गरेर साङ्गीतिक माहोल निर्माण गर्नेछन् ।
कर्खा ब्यान्डको गायकमा सुशान्त गायक र निशान गायक, सारङ्गीमा विशाल गायक, मादलमा कमल गायक गितारमा गौरव बर्देवा र सुमन परियार तथा ड्रममा रोशन यादव रहेका छन् । उनीहरूले आफ्नो प्रतिभा मार्फत सङ्गीतप्रेमीको साङ्गीतिक तृष्णा मेट्नेछन् ।
यसका अलावा पोखरामा रहेका विभिन्न सारङ्गी पाठशालाका प्रशिक्षार्थीको प्रस्तुती समेत कार्यक्रममा रहनेछ। घराना ईभेन्ट्सको सहकार्यमा हुने कार्यक्रममा प्रवेश नि:शुल्क रहेको आयोजकले खुलाए । कार्यक्रममा उपस्थित हुनको लागि सबै सङ्गीतप्रेमीलाई अध्यक्ष गायकले आग्रह गरेका छन् ।