पोखरा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेर जानकारी गराएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गरेको छ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0