पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा बुधबारदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कास्की क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद दामोदर वैरागीले उद्घाटन गरे ।
नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ–दिपावली, छठ, नेपाल सम्वत् सहितका शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । वडा भित्रका ब्याडमिन्टन खेलाडीले प्रतिष्पर्धा गर्ने प्रावधान राखिएकोमा खेलाडीलाई पोल ए र पोल बिमा विभाजन गरेर खेल सञ्चालन गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । जसअनुसार पोल ए मा ९ टिम र पोल बि मा १० टिमले भाग लिएका छन् ।
दुबै क्याटगोरीको विजेताले १२ हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । असोज १९ गतेसम्म हुने प्रतियोगिता रविन्द्र स्मृति ब्याडमिन्टन कोर्टमा सञ्चालन भइरहेको छ । वडाले वार्षिक कार्यक्रम अन्तरगत प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।