पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा पोखराको विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष राखिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो ।

वडा प्रहरी कार्यालय बगर र अस्थायी ट्राफिक पोष्ट बगरको निगरानीमा रहने उक्त यात्रु सहायता कक्ष चाड पर्वलाई लक्षित गरेर राखिएको हो । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले यात्रुहरूको सहजताका लागि नै यात्रु सहायता कक्ष राखिएको बताए ।

‘चाड पर्वमा यात्रुहरू जिल्ला बाहिर जाने क्रम र भित्रने क्रम बढ्दो हुन्छ’ भट्टराईले भने, ‘यात्रा गर्दा यात्रुहरूको समस्यालाई सम्बोधन गर्नका लागि नै कक्ष स्थापना गरिएको हो ।’  उनले चालकदलले संवेदनशिल बनेर यात्रुहरूलाई सेवा दिन आग्रह गरे । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीले यात्रुहरूले केही समस्या परेमा निर्धक्क भएर यात्रु सहायता कक्षमा सहयोग लिन आग्रह गरे।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेशका सहसचिव बालकृष्ण पोख्रेलले सवारी साधनमा यात्रुहरूलाई सेवा दिँदा विशेष ख्याल गर्न आग्रह गरे । अस्थायी ट्राफिक पोष्ट बगरका इन्चार्ज प्रहरी नायब निरीक्षक भिमबहादुर खत्रीले यात्रुहरूसँग प्रत्यक्ष जोडिने काम कक्षले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0