पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर वि पौडेलको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।
सोमबार १४ बुँदे माग समेटिएको ज्ञापनपत्र प्रदेश कमिटी अध्यक्ष निर्मल दियालीले १४ बुँदे माग पढेर सुनाएपछि मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गरिएको थियो। मुक्ति समाज केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज धन बहादुर नेपालीले दलित अधिकार सम्बन्धी विधेयक मस्यौदा पेश गरे ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले संविधानमा उत्पीडित दलितका हक अधिकार लेखिए पनि व्यवहारमा लागू नभएको, विभेदका घटनामा न्याय पाउन नसकेको अवस्था एवं राज्यको विभिन्न तहमा समानुपातिक समावेशिता नभएको बताए ।
ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले दलित अधिकारका लागि दलित अधिकार विधेयक ल्याउन तयारी गरिरहेको र कानून बनाएर अघि बढ्न सङ्कल्प प्रस्ताव अघि सारेको बताए । अहिले पनि समाजमा विभेदजन्य घटना घट्नु सभ्य समाज र लोकतान्त्रिक मुलुकका लागि अशोभनीय भएको र कानुन विपरित हुने उनको भनाई थियो । ज्ञापनपत्रलाई गण्डकी प्रदेश सरकारले भविष्यमा कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाए ।
सोही टोलीले नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मालाई पोखरा न्युरोडस्थित गण्डकी प्रदेश कार्यालयमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष शर्माले ध्यानाकर्षण पत्रले पार्टीलाई महत्वपूर्ण सुझाव मिलेको चर्चा गर्दै सबैखाले विभेद विरुद्ध लडाइ जित्दै राष्ट्र विकास र समृद्धिमा पुग्ने विचार राख्दै हरेकले मानसिकताबाट विभेदकारी सोच हटाउन जरुरी भएको बताए ।
प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव दाम बहादुर वि.क.ले प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका थिए ।ज्ञापनपत्रमा मन्त्रिपरिषद्मा दलित मन्त्री समावेश गरिनुपर्ने, उत्पीडित दलित विद्यार्थीमा सहुलियत, उत्पीडित दलितलाई सीपवान बनाउने र व्यवसायमा आधुनिकीकरण गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, राजनैतिक नियुक्तिमा प्राथमिकता दिनुपर्ने लगायतका सवाल समावेश रहेका छन् ।
ज्ञापनपत्र बुझाउने प्रतिनिधिमा मुक्ति समाज केन्द्रीय अध्यक्ष मनोहर वि पौडेल, गण्डकी प्रदेश सांसद गोविन्द नेपाली, सांसद नन्दकला नेपाली, मुक्ति समाज केन्द्रीय सचिव धन बहादुर नेपाली, स्थायी समिति सदस्य लाल बहादुर परियार, केन्द्रीय सचिवालय सदस्य प्रेम वि.क. सहित केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय विभाग सदस्यहरू, मुक्ति समाज प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, जनप्रतिनिधिहरू, महानगर अध्यक्ष लगायत मुक्ति समाज कास्कीका अग्रजहरू सहभागी भएका थिए ।
मुक्ति समाजका सातवटै प्रदेश कमिटीहरूले प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश कमिटीले प्रदेश सरकार समक्ष ज्ञापनपत्र बुझाइसकेका छन् ।