पोखरा । विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको जानकारी गराएको हो ।

पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि सङ्गीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसोदेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ ।

घटस्थापनाको दिन असोज १७ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने दिउँसोदेखि ज्ञानमहायज्ञ सुरु हुनेछ । विन्ध्यवासिनीदेखि सुरु हुने शोभायात्राले सहरका विभिन्न भाग परिक्रमा गर्नेछ । शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिँगारिएका नवकन्यासहितको रथ, झाँकी समावेश हुनेछ । घटनास्थापनाको दिन विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः बिन्ध्यबासिनी मन्दिर प्राङ्गण पुगेर समापन हुनेछ ।

 विगतदेखि शक्तिस्थलका रुपमा पुजिँदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्रशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव तीर्थ श्रेष्ठ बताउँछन् । यहाँ विन्ध्यवासिनी गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निशुल्क आवासीयरूपमा अध्यापन कार्य सञ्चालित छ । अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत छ ।

विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत चलाएको समितिको एम्बुलेन्स सेवा पनि सञ्चालित छ । पछिल्लो पटक समितिले मन्दिरको गुठीमा बिन्ध्यबासिनी प्राकृतिक चिकित्सालय सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0