काठमाडौँ । वर्षाले सिर्जना गरेको विपद् व्यवस्थापन गर्न काठमाडौँमा नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको महानगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् । शनिबार आफ्नो फेसबुक पेज मार्फत उनले यो जानकारी गराएका हुन् ।
निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको मेयर शाहले खुलाएका छन् । टोलीहरूले डुबान भएका वस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडक जस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको उनको भनाइ छ ।
‘वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शङ्खमूल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौ’ उनले लेखेका छन्।
उनले आवश्यक सतर्कता अपनाउन महानगरबासीमा अनुरोध गरेका छन् ।’यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो । आवश्यक सतर्कता अपनाऔँ । विपद सामना गर्न पूर्व तयारी गरौँ’ उनको अनुरोध छ।
जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भएकाठमाडौँ महानगरपालिकाका हटलाइनहरू १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन तथा आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न उनको आग्रह छ ।