पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ लाई झलमल्ल पार्न वडाले सक्रियता देखाएको छ । वडाका सबै टोलमा रहेका बिजुलीको पोलमा बत्ती बाल्नको लागि मर्मत तथा नयाँ बत्ती जडानको कार्य बिहीबारदेखि सुरु गरेको छ । जसको लागि वडाले ३६ वाटका १ सय ७७ वटा सेन्सर बत्ती जडान गर्दैछ ।
६ लाखको लागतमा जडान हुन लागेको बत्तीको १८ महिनाको वारेन्टी रहनेछ । बाँकी ठाउँमा टोलविकास संस्थाको साथ लिएर वडालाई रातको समयमा उज्यालो बनाउने तयारी गरिएको छ । यसको लागि वडामा रहेका टोल विकास संस्थासँग छलफल गरिएको छ । यो वडामा हाइवे बाहेक ९ सय ५० को हाराहारीमा विद्युतको पोल रहेका छन् । ७० प्रतिशत पोलमा अघिल्लो आर्थिक वर्षको बत्तीहरू बलिरहेका छन् । २० प्रतिशत सामान्य मर्मतमा बल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
यस वडामा शुक्रबार देखि डेङ्गी सङ्क्रमण विरुद्धको सचेतना अभियान समेत सञ्चालन गरिने भएको छ । डेङ्गी सङ्क्रमणको हिसाबले पोखरा महानगरको वडा मध्ये दोस्रो धेरै सङ्क्रमित भएको वडा भएको कारण मिहिन ढङ्गले सबै वडावासीको साथ लिएर अभियान चलाउन लागिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले कोटखबरसँग बताए ।
वडामा २७ वटा टोल विकास संस्था रहेको र उनीहरूको समन्वयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, रेडक्रसकर्मी, जनप्रतिनिधिको उपस्थितिमा वडाका हरेक घरको आँगन, छत, पिढी सहितका ठाउँमा रहेका डेङ्गी सङ्क्रमण गर्ने लामखुट्टेको लार्भा नष्ट गरिने तयारी गरिएको छ । अभियानमा महानगरको स्वास्थ्य महाशाखाले आवश्यक समन्वय गर्नेछ ।
‘भोलिबाटै हरेक दिन ५ वटा टोलमा कार्यक्रम राखौ, सुरक्षाकर्मी पठाउछौँ, हामी जनप्रतिनिधि एक-एक जनाले प्रतिनिधित्व गर्छौ, यसलाई एकदमै एक्सनमा गएर रोकथाम गर्नुपर्छ’ वडाध्यक्ष बरालले भने । दशैँ तिहारको समयमा घर परिवारमा कोही बिरामी भएमा चाडबाड खल्लो हुने भन्दै वडाध्यक्ष बरालले सबैको सक्रियतामा अभियान सफल पार्नुपर्ने बताए।यसअगाडि वडाले वडामा रहेका तथा छिमेकी वडामा समेत रहेका विद्यालयमा पुगेर विद्यार्थीलाई डेङ्गी सङ्क्रमण हुन नदिन अपनाउनुपर्ने सचेतनाका बारेमा अवगत गराइसकेको जनाइएको छ । पर्चा पम्लेट वितरण कार्य समेत भइरहेको छ । वडाको अभियानलाई सघाउने टोल विकास संस्थाले प्रतिवद्दता जनाएका छन् ।
पोखरामा डेङ्गी सङ्क्रमणदर तुलनात्मक रुपमा धेरै भइरहेकोले कुनै बेला पनि महामारीको स्वरुप लिन सक्ने भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशन अनुसार पोखरामहानगरपालिकाको भूगोल भित्र रहेका प्रत्यक टोलमा कम्तिमा हप्ताको एकपटक लामखुट्टेको बासस्थान खोजी गर र नष्ट गर अभियान ६ हप्तासम्म गराउने लागिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले समेत जनाएको छ । छलफलमा स्वास्थ्य महाशाखाको पनि प्रतिनिधित्व रहेको थियोे ।