पोखरा । जिल्ला समन्वय समिति कास्कीले जनप्रतिनिधिहरूको लागि दलित मैत्री कानुन व्यवहारिक सिकाइ अभ्यास र अनुभव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीमा दलित मैत्री कानुनको व्यवहारिक कार्यान्वयन सहित कठिनाइहरूको पहिचान र निराकरणका निम्ति सो कार्यक्रम आयोजना गरिएको बताउँदै समतामूलक समाज निर्माणमा जनप्रतिनिधिहरूको प्रभावकारी भूमिका स्थापित हुने विश्वास व्यक्त गरे।

कास्कीका सबै पालिकाहरूमा दलितमैत्री नीति, कार्यक्रम र बजेट अझै थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिन पौडेलले आग्रह गरे । रूपान्तरणकारी समाज निर्माणमा सबै लागिपर्न पौडेलले आग्रह गरे । संविधान र कानुनले ब्यवस्था गरेका विषय र अभ्यासको क्रममा देखिएका कठिनाइ निराकरण सम्बन्धमा सो कार्यक्रममा घनिभूत छलफल भएको थियो।

 कार्यक्रममा अधिवक्ता भगवती पहारीले दलित मैत्री कानुन र व्यवहारिक अभ्यास सिकाइ र अनुभव विषयमा कार्यपत्र सहित कार्यक्रममा सहजीकरण गरेकी थिइन् । कार्यक्रममा कास्कीका पालिकाहरूबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा डेङ्गु रोगको कारण रोकथाम र उपचारका सम्बन्धमा सचेतनामूलक प्रशिक्षण समेत सम्पन्न भएको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0