पोखरा । ‘स्टार्स सामूहिक नृत्य प्रतियोगिता २०८१’ उपाधि क्रबा आजी सिङ्दी तमु समाजले जितेको छ । कोल्मा बाहाकोट तमु समाज द्वितीय र चिउली पार्चे तमु समाज तृतीय बने ।
प्रतियोगितामा सहभागी ७ समूह मध्ये अब्बल बनेर उपाधि जितेको क्रबा आजी सिङ्दीले ५० हजार रुपैयाँ हात पार्न सफल भयो । द्वितीय बनेको कोल्मा बाहाकोट तमु समाजले २५ हजार र तृतीय बनेको चिउली पार्चे तमु समाजले १० हजार प्राप्त गरे । ३५ वर्ष माथिको उमेर समुहलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको थियो ।
नृत्य क्षेत्रमा क्रियाशील स्टार्स स्टुडियो प्रालिको आठौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा यो प्रतियोगिता आयोजना गरेको हो । विजेतालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, आयोजक संस्थाका अध्यक्ष जसमाया गुरुङ जसु लगायतले नगद र प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगिताको निर्णायकमा मनकुमार श्रेष्ठ, रविन गुरुङ र प्रीति गुरुङ रहेका थिए ।
सामाजिक कार्यका लागि नृत्य भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । यस अगाडि समेत स्टार्सले ३० वर्ष भन्दा माथिको उमेरसमूहलाई लक्षित गरेर नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।
वार्षिकोत्सव कै अवसरमा माध्यामिक विद्यालय स्तरीय ‘स्टार्स चित्र प्रतियोगिता’ समेत आयोजना गरिएको थियो । सो प्रतियोगिताका विजेतालाई समेत यहीँ कार्यक्रम मार्फत पुरस्कार प्रदान गरियो । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजित कार्यक्रमको थप आकर्षणमा गायन र नृत्य प्रस्तुति समेत रहेका थियो ।
आयोजक संस्था स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील छ । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातिको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षणमा र प्रवर्द्धनका लागि क्रियाशील छ ।