पोखरा । १४ महिनापछि नयाँ नेतृत्व पाएको गण्डकी प्रज्ञा प्रतिष्ठानले विशुद्ध प्राज्ञिक कर्मलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। बुधबार आयोजित पदस्थापना कार्यक्रममा नवनियुक्त कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले प्रतिष्ठानलाई राजनीतिक वा अन्य कुनै प्रभावबाट मुक्त राख्दै भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा केन्द्रित संस्था बनाउने घोषणा गरे।
पदस्थापना कार्यक्रममा बोल्दै कुलपति न्यौपानेले गण्डकी प्रज्ञा प्रतिष्ठानलाई नेपालको प्राज्ञिक क्षेत्रकै उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक उज्यालो देख्न पाइन्छ भन्ने विश्वास स्थापित गर्न यहाँ विशुद्ध प्राज्ञिक कर्म मात्र हुने र त्यो बाहेक अरू कुनै गन्ध नपाइने बनाइने दावी गरे । प्रतिष्ठानमा विशुद्ध प्राज्ञिक कर्मको सुगन्ध मात्र फैलिने उनले खुलाए । बाहिरबाट विभिन्न टिप्पणी र आशङ्का आए पनि प्रतिष्ठानभित्र त्यस्ता गतिविधि हुन नदिने उनले स्पष्ट पारे । आफूहरूबाट कतै कमजोरी भएको भए त्यसलाई सच्याउँदै निष्पक्ष र मर्यादित ढङ्गले प्राज्ञिक दायित्व निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

नवनियुक्त उपकुलपति शङ्कर विरही गुरुङले गण्डकी प्रदेशका ११ वटै जिल्लाका भाषा, साहित्य, कला, संस्कृति र स्रष्टासँग प्रत्यक्ष सहकार्य गर्दै प्रतिष्ठानका गतिविधिलाई गाउँगाउँसम्म विस्तार गर्ने योजना सुनाए । कुलपतिसँग समन्वय गर्दै भाषा, साहित्य र सङ्गीतको उन्नयनका लागि सक्रिय रूपमा काम गर्ने तथा समग्र कलाकार र साहित्यकारको हितमा आफू समर्पित रहने उनको भनाइ थियो ।
पुनः सदस्य सचिवको जिम्मेवारी सम्हालेका मनकुमार श्रेष्ठले दोस्रो कार्यकाल थप चुनौतीपूर्ण भए पनि पहिलो कार्यकालमा सुरु भएका कामलाई निरन्तरता दिँदै नयाँ योजनासहित अघि बढ्ने बताए । संस्थापक नेतृत्वले कोरेको मार्गलाई थप व्यवस्थित गर्दै कला, साहित्य, सङ्गीत र संस्कृतिको विकासमा सबै सरोकारवालाको साथ लिएर अघि बढ्ने उनको प्रतिबद्धता थियो । श्रेष्ठले स्रष्टाको स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिए । साथै, प्रदेशका सबै पालिकामा शुद्ध लेख्ने–बोल्ने अभियान सञ्चालन गर्ने, मगर र गुरुङ भाषाको प्रयोगलाई दैनिक जीवनमा विस्तार गर्ने, ललितकला प्रदर्शनी हल र सांस्कृतिक ग्राम निर्माणको अवधारणालाई मूर्तरूप दिने तथा पोखरा आउने पर्यटकलाई दैनिक दुई घण्टा गण्डकीको संस्कृति प्रस्तुत गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरे । अघिल्लो कार्यकालका अधुरा योजना पनि पूरा गरिने उनले बताए ।

संस्थापक कुलपति सूर्य खड्का विखर्चीले नयाँ नेतृत्वको क्षमता र उत्साहले आफूहरूले निर्माण गरेको आधारलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । अघिल्लो कार्यकालमा अधुरा रहेका केही विषय अहिले पूरा भएकाले आगामी काम अझ सहज हुने उनको भनाइ थियो।
संस्थापक उपकुलपति गोरे गुरुङले आफूहरूले देखेका धेरै सपना अझै पूरा हुन बाँकी रहेकाले नयाँ नेतृत्वले ती योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। आफू पदमा नरहे पनि प्रतिष्ठानलाई आवश्यक पर्ने हरेक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।
कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख टंकप्रसाद ढकालले गरेका थिए। गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको प्रतिष्ठानले गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नयाँ नेतृत्व पाएको हो। संरक्षकसमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुलपतिमा कुसुमाकर न्यौपाने, उपकुलपतिमा शङ्कर विरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठलाई नियुक्त गरेका हुन्।

यसैगरी, प्राज्ञसभा सदस्यमा अनुराग अधिकारी, इन्द्रमान खत्री, ईश्वरीप्रसाद भुसाल, प्रा.डा. ईश्वरचन्द्र वाग्ले, कमल पौडेल ‘अथक’, कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, टुकादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, भूपेन्द्र बाँनियाँ, रामभक्त जोजिजू, रामजीप्रसाद पौडेल, वसन्त अधिकारी, डा. वीरेन्द्र पुडासैनी, शान्ता बास्तोला, शान्ति भुसाल, सन्जु महतो थनेत र हरिमाया श्रेष्ठ नियुक्त भएका छन्।
सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार प्राज्ञसभा सदस्यहरूको शपथग्रहण बिहीबार हुनेछ। कुलपति न्यौपानेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष तथा उपकुलपति गुरुङ र सदस्य सचिव श्रेष्ठले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको उपस्थितिमा कुलपति समक्ष शपथ लिइसकेका छन्। नव नियुक्त प्राज्ञसभा सदस्यलाई भने कुलपति न्यौपानेले शपथ गराउने कार्यक्रम रहेको छ। प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो । पहिलो कार्यकालका लागि नियुक्त कुलपति सहितको टिमको कार्यकाल २०८२ साथ बैशाख १४ गते सकिएपछि २०८२ साल बैशाख १५ गतेबाट प्रतिष्ठानको काम प्राय: ठप्प बनेका थिए ।
















