पोखरा । तमु धिं नेपालका केन्द्रीय अध्यक्ष होमबहादुर गुरुङले तमु धिं नेपाल सधैं तमु समुदायको एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको पक्षमा रहेको बताएका छन्। सोमबार पोखरामा आयोजित तमु धिं नेपाल कास्की जिल्ला समितिको प्रथम स्थापना दिवस तथा प्रथम साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले तमु समुदायको साझा हित, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा योगदान पुग्ने सर्तमा तमु समुदायसँग सम्बन्धित सबै संघसंस्थासँग सहकार्य र एकताका लागि तमु धिं नेपाल सधैं तयार रहेको स्पष्ट पारे।

 उनले तमु धिं नेपालको संगठनात्मक दायरा निरन्तर विस्तार भइरहेको उल्लेख गर्दै जिल्ला, पालिका, युवा तथा विद्यार्थी तहसम्म संगठन विस्तार गरिएको जानकारी दिए। गुरुङले गुरुङ समुदायसँग सम्बन्धित सबै सामाजिक संस्थालाई तमु धिं नेपालको साझा छातामुनि आबद्ध गराउने अभियान जारी रहेको पनि बताए। अध्यक्ष गुरुङले पछिल्लो समय गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिमाथि विभिन्न ढंगबाट चुनौती सिर्जना भइरहेकाले समुदाय सचेत र संगठित हुनुपर्नेमा जोड दिए। उनले छोटो समयमै तमु धिं नेपाल कास्की जिल्ला समितिले समुदायको हितमा गरेका गतिविधिको प्रशंसा गर्दै विभिन्न सहयोगी व्यक्तित्व र शुभेच्छुकहरूको साथले समितिलाई अझ प्रभावकारी रूपमा अघि बढ्न सहज भएको बताए। आगामी दिनमा समिति अझ सुदृढ र क्रियाशील बन्ने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा समितिको एक वर्षे कार्यकालका गतिविधि, उपलब्धि, आगामी योजना तथा संस्थागत विकासका विषयमा विस्तृत समीक्षा गरिएको थियो। सचिव रेशु गुरुङले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भाषा, कला, संस्कृति संरक्षण, संस्थागत विस्तार, सामाजिक सेवा तथा समुदायको एकताका लागि सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी गराइन्। उनले कास्की जिल्लाका विभिन्न पालिकामा समिति विस्तार, समुदायलाई संगठित बनाउने अभियान तथा सांस्कृतिक संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरिन्।
त्यसैगरी, कोषाध्यक्ष राम कुमारी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय, आर्थिक पारदर्शिता तथा आगामी आर्थिक योजनाबारे जानकारी गराइन्।

समितिले स्थापना भएको छोटो अवधिमै समुदायलाई संगठित गर्दै सामाजिक उत्तरदायित्व, सांस्कृतिक संरक्षण तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। आगामी दिनमा भाषा, संस्कृति, कला संरक्षणसँगै शिक्षा, सामाजिक सेवा र समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राखेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

कार्यक्रममा वरिष्ठ समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङ, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद् कास्कीका अध्यक्ष सिता गुरुङ, तमु धिं नेपाल स्याङ्जा जिल्ला अध्यक्ष बालकुमार गुरुङ, मादी गाउँपालिका समिति अध्यक्ष ईन्द्रबहादुर गुरुङ, कास्कीका सल्लाहकार बेलबहादुर गुरुङ तथा मिरुवा तमु समाजका अध्यक्ष खड्कमान गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तमु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा तमु धिं नेपालको भूमिका प्रशंसनीय रहेको बताए। वक्ताहरूले संगठनलाई अझ प्रभावकारी बनाउँदै युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा वरिष्ठ समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङले १ लाख १ हजार १ सय १५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै रकम हस्तान्तरण गरे। त्यसैगरी बेलबहादुर गुरुङको परिवारले आफ्ना बुबाआमाको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै उक्त रकम संस्थालाई हस्तान्तरण गरेको थियो।

साधारण सभामा नवगठित तमु विद्यार्थी समिति नेपाल, कास्की जिल्ला समितिलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। साथै संस्थाका आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। आजीवन सदस्यहरूलाई प्रमाणपत्र तथा परिचयपत्र वितरणसमेत गरिएको थियो।

कार्यक्रममा तमु धिं नेपालका केन्द्रीय पदाधिकारी, राष्ट्रिय परिषद्का प्रतिनिधि, विभिन्न जिल्ला तथा पालिका समितिका प्रतिनिधि, सल्लाहकार, आजीवन सदस्य, शुभेच्छुक तथा तमु समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत एन्जिला गुरुङ, अनुष्का गुरुङ, विनिता गुरुङ, सुस्मीता गुरुङ, सुमित गुरुङ, मुनाल गुरुङ, अपिल गुरुङ, कृष्णकुमारी गुरुङ, सतिस गुरुङलगायतले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए ।
तमु धिं नेपाल कास्की जिल्ला समितिका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष यज्ञप्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव रेशु गुरुङ र सहसचिव कृष्णमाया गुरुङले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0