पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका, २०७१ बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि बिहीबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित विशेष समारोहबीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो ।

यसअघि कास्की जिल्लाका सबै पाँच स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिसकेका थिए। स्थानीय तहहरूको उपलब्धिलाई आधार मानेर जिल्ला तहमा आवश्यक मापदण्ड पूरा भएपछि कास्कीलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले पूर्ण खोप अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सबै पक्षप्रति आभार व्यक्त गरे । उनले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकाय तथा आम नागरिकको सक्रिय सहभागिताका कारण अभियानले सफलता प्राप्त गरेको बताए ।

उनले कुनै पनि सार्वजनिक स्वास्थ्य अभियान जनप्रतिनिधि र नागरिकको साझा प्रतिबद्धताबाट मात्र सफल हुने उल्लेख गर्दै स्वस्थ नागरिक नै समृद्ध नेपालको आधार भएको धारणा व्यक्त गरे। भविष्यका नागरिकका रूपमा रहेका बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप सबैभन्दा प्रभावकारी र भरपर्दो सुरक्षात्मक उपाय भएको उनको भनाइ थियो। सबै अभिभावकले आफ्ना बालबालिकालाई नियमित रूपमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप लगाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. युबानिधि बसौलाले खोप कार्यक्रम नेपालको सबैभन्दा सफल सार्वजनिक स्वास्थ्य अभियानमध्ये एक रहेको उल्लेख गर्दै यसको दिगोपन कायम राख्न स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए। उनले प्रत्येक बालबालिकाले समयमै पूर्ण खोप पाउने सुनिश्चितता राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गरे।

त्यसैगरी मन्त्रालयका अतिरिक्त सचिव खिमबहादुर खड्काले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई यसलाई निरन्तर कायम राख्ने जिम्मेवारी अझ महत्त्वपूर्ण भएको बताए । उनले खोपबाट वञ्चित हुने कुनै पनि बालबालिका नरहने वातावरण सिर्जना गर्न सबै पक्षले निरन्तर सक्रिय रहनुपर्ने धारणा राखे।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल तथा जिल्ला समन्वय अधिकारी नवराज बराललगायतले पूर्ण खोप सुनिश्चितता अभियानको महत्व, स्वास्थ्य क्षेत्रमा यसको सकारात्मक प्रभाव तथा आगामी चुनौतीका विषयमा आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा अभियानलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, सरोकारवाला तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो। साथै सेवा अवधिभर समुदायमा स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याई अवकाश प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत सम्मान गरी उनीहरूको योगदानको उच्च कदर गरिएको थियो।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत प्रत्येक बालबालिकाले उमेरअनुसार आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित गर्दै त्यसको दिगोपना कायम राख्ने उद्देश्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो। यस घोषणासँगै कास्की जिल्लाले बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास गरिएको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0