पोखरा । जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारअन्तर्गत कास्की जिल्लामा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा अनुगमन सम्पन्न भएको हो ।
अनुगमन टोलीले पोखरा महानगरपालिका–३३ स्थित तल्लो खैरेनी–घोक्रेनी–शिवबस्ती हुँदै गाईगौंडासम्म निर्माणाधीन बहुवर्षीय सडक आयोजनाको निरीक्षण गरेको थियो । करिब पाँच करोड रुपैयाँ लागत अनुमान रहेको उक्त सडक आयोजनासँगै पोखरा महानगरपालिका–३१ स्थित करिब २५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको स्याङ्खुदी भञ्ज्याङसम्मको सात ताल जोड्ने लिंक रोड सडक आयोजनाको पनि अनुगमन गरिएको थियो ।
अनुगमनमा जिल्ला समन्वय समिति सदस्य सीता देवी विक, हर्क गुरुङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले निर्माण कार्यमा गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिँदै दिगो विकासलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले विकास निर्माणका कार्यमा हुने अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पार्दै स्थानीय उपभोक्ता तथा सरोकारवालालाई समेत सचेत र जिम्मेवार बन्न आग्रह गरे ।
प्रमुख पौडेलले केही आयोजनामा निर्माणको गति तथा गुणस्तरमा कमजोरी देखिएको उल्लेख गर्दै निर्माण व्यवसायीलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न तत्काल आवश्यक सुधार गर्न निर्देशन दिएका थिए ।
















