काठमाडौं । नेपाल खेलप्रेमी तथा खेलाडीहरूको अभिभावकीय संगठन नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ।
भेलाबाट महासंघका अध्यक्ष पर्शुराम बस्नेतले आफ्नो कार्यकाल पूरा गर्दै जिम्मेवारीबाट बिदा लिएका छन् । उनले महासंघका उपाध्यक्ष दीपेन्द्र दाहाललाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेको महासंघले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्र निर्माणमा खेलकुदको भूमिकाबारे धारणा राखेका थिए ।

भेलामा नेकपा (एमाले)का केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, पार्टी केन्द्रीय कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका निवर्तमान इन्चार्ज जे.एन. थपलिया, तथा पार्टी केन्द्रीय कमिटी सदस्य एवं महासंघका इन्चार्ज दीपक कार्कीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
महासंघले संगठन विस्तार, रचनात्मक तथा स्वयंसेवी गतिविधि सञ्चालन, खेलकुदसम्बन्धी विस्तृत कार्ययोजना निर्माण तथा समसामयिक खेलकुद र राजनीतिक विषयसँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै राष्ट्रिय भेला सम्पन्न गरेको जनाएको छ।
महासंघका सचिव एवं प्रवक्ता विष्णु पुनले राष्ट्रिय भेलाले संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा खेलकुद क्षेत्रको विकास र विस्तारका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन् ।
















