पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले घरघरमा तरकारी उत्पादन प्रवर्द्धन गर्दै कृषिमा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ ‘एक घर एक करेसाबारी’ कार्यक्रम शुभारम्भ गरेको छ।
मंगलबार गाउँपालिकाको वडा नं. ८, बिरेठाँटीमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्यक्रमको उद्घाटन गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख पौडेलले घरघरमा करेसाबारी निर्माणलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरेकोमा गाउँपालिकालाई धन्यवाद व्यक्त गरे । उनले यस अभियानले तरकारी उत्पादनमा आत्मनिर्भरता हासिल गर्न तथा स्थानीय नागरिकको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले उपलब्ध गराएको अवसरको अधिकतम सदुपयोग गर्न स्थानीयवासीलाई आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार” भन्ने मूल नारालाई सार्थक बनाउन ‘एक घर एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको बताए । उनले गाउँपालिकाका ११ वटै वडालाई कृषि क्षेत्रका विभिन्न विधामा पकेट क्षेत्रका रूपमा विकास गर्ने रणनीतिअनुसार योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए ।
अध्यक्ष केसीले स्थानीय कृषकलाई आधुनिक कृषि प्रविधितर्फ आकर्षित गर्दै उत्पादन वृद्धि, आयआर्जनमा सुधार तथा कृषि व्यवसायलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित गाउँपालिकाले कृषि मैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे । साथै उनले गाउँपालिकाले सञ्चालन गरिरहेका विकास निर्माणका कार्य तथा आगामी योजनाबारे पनि जानकारी गराए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी, वडा नं. ८ की कार्यवाहक अध्यक्ष गौमाया नेपाली, जिल्ला समन्वय अधिकारी नवराज बराल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, जिल्ला समन्वय समिति कास्कीका सदस्यद्वय बालिका सुवेदी र गणेशबहादुर जीसी तथा शाखा अधिकृत लक्षु शर्मालगायतले स्थानीय कृषकलाई बीउबिजन, कृषि उपकरण तथा कृषि प्रविधि हस्तान्तरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कृषक तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँपालिकाले यस कार्यक्रममार्फत प्रत्येक घरमा करेसाबारी विस्तार गरी स्थानीय उत्पादन वृद्धि, पोषण सुरक्षा र कृषिमा आत्मनिर्भरताको अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
















