पोखरा । पोखरा महानगरपालिका–२८, कालिका बिमिरापानीलाई मूल थलो बनाएर देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका आत्रीय गोत्रका पौडेल बन्धुहरूले परम्परागत रूपमा वार्षिक कुलपूजा सम्पन्न गरेका छन्।
पोखरा–२८ कालिमाटे, डिहीस्थित कुलदेवता मन्दिरमा आयोजित कार्यक्रममा श्रद्धालुहरूले विधिपूर्वक पूजा–आराधना गर्दै कुलदेवताप्रति आस्था व्यक्त गरेका थिए। कार्यक्रममा पोखराबाहिर विभिन्न जिल्लाबाट आएका पौडेल बन्धु–बान्धवहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पौडेल कुल मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव पौडेलले समितिको हालसम्मको आय–व्यय विवरण सार्वजनिक गर्दै आगामी दिनमा मन्दिरको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासका लागि तयार गरिएका भावी योजनाबारे जानकारी गराएका थिए।
सो अवसरमा कुलदेवता मन्दिर परिसरमा ट्रस निर्माण गरी सहयोग पुर्याउने सुशील पौडेल, मन्दिर विस्तारका लागि जग्गा उपलब्ध गराउने खेमराज पौडेल, सावित्री पौडेल, कृष्णप्रसाद पौडेल, रामजीप्रसाद पौडेल तथा बद्रीप्रसाद पौडेल, मन्दिरका लागि आवश्यक भाडाकुँडा उपलब्ध गराउने रुद्रप्रसाद पौडेल तथा विभिन्न आर्थिक सहयोगदाताहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा समितिका सल्लाहकार नवराज पौडेल र राधामोहन पौडेल, कोषाध्यक्ष सूर्यराज पौडेल, सदस्य खेमराज पौडेल, राधिका पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कुलपूजाले पौडेल समुदायबीच आपसी एकता, पारिवारिक सम्बन्ध र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको कुलपूजाले देश–विदेशमा रहेका आत्रीय गोत्रका पौडेल बन्धुहरूलाई एकै थलोमा भेला गराई आपसी सद्भाव, भाइचारा र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। यस वर्षको कार्यक्रम पनि धार्मिक आस्था, सम्मान तथा सामूहिक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ। कार्यक्रमको सञ्चालन मनोहरि पौडेलले गरेका थिए।
















