पोखरा । रूपा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १५औँ गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
कार्यक्रमअनुसार गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा विशेष जोड दिएको छ। किसानलाई प्रत्यक्ष सेवा प्रदान गर्न “रूपा किसान एप” सञ्चालन गरिने, दूध उत्पादन वृद्धि गर्न किसानलाई प्रतिलिटर प्रोत्साहन अनुदान उपलब्ध गराइने तथा कृषि एम्बुलेन्स सञ्चालन गरिने योजना अघि सारिएको छ। साथै बाँझो जमिनको उपयोग बढाउन भूमि बैंक स्थापना गर्ने नीति लिइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ विद्यालय र ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन, विशेषज्ञसहित दन्त सेवा विस्तार, स्वास्थ्य बीमामा छुटको व्यवस्था तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। मधुमेह, उच्च रक्तचाप तथा कुपोषण नियन्त्रणका कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाइएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता, सूचना प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा गरिब तथा जेहेन्दार विद्यार्थी कोष स्थापना गर्ने नीति समावेश गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत रामकोट–रामदी सडक, देउराली फेदी–रामदी सडक लगायत विभिन्न सडक आयोजनालाई निरन्तरता दिइने तथा सडक मर्मत सम्भारका लागि द्रुत प्रतिक्रिया टोली परिचालन गरिने भएको छ। गाउँपालिकाले नयाँ सडक ट्र्याक नखोल्ने र विद्यमान सडकको स्तरोन्नतिलाई प्राथमिकता दिने नीति पनि लिएको छ।
पर्यटन प्रवर्द्धनका लागि रूपा ताल क्षेत्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, होमस्टे प्रवर्द्धन, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा बहुउद्देश्यीय पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले समृद्ध, आत्मनिर्भर र रोजगारमुखी स्थानीय अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको जनाएको छ।
















