राजाराम पौडेल,पोखरा ।  कक्षामा शिक्षकले प्रश्न सोध्दा टाउको झुकाउने बबिता विश्वकर्मा अहिले मञ्चको बीचमा उभिएर सयौं दर्शकअगाडि संवाद बोल्छिन् । केही वर्षअघिसम्म सार्वजनिक रूपमा बोल्न डराउने उनी अहिले पात्रभित्र पस्छिन्, संवाद सम्झिन्छिन्, दर्शकको प्रतिक्रिया बुझ्छिन् र आत्मविश्वासका साथ अभिनय गर्छिन् । पोखराका विद्यालयमा विस्तार हुँदै गएको नाट्यशिक्षाले उनीजस्ता धेरै विद्यार्थीको जीवनमा यस्तै परिवर्तन ल्याइरहेको छ ।

कक्षा ९ मा अध्ययनरत बबिता भन्छिन्, ‘पहिला अगाडि गएर बोल्नै सक्दिनथेँ । सबैले हेर्दा डर लाग्थ्यो । उत्तर थाहा हुँदाहुँदै पनि भन्न सक्दिनथेँ । अहिले धेरै सुधार भएको छ । आत्मविश्वास बढेको छ ।’ विगत चार वर्षदेखि विद्यालयमा हुने साप्ताहिक नाट्य कक्षाले उनलाई केवल बोल्न मात्र होइन, मञ्चमा अभिनय गर्न पनि सक्षम बनाएको छ । उनले ‘स्नो ह्वाइट’, ‘पाठशाला’ र सडक नाटक ‘शून्यदेखि सुरु’मा अभिनय गरिसकेकी छन् । अहिले अर्को नाटकको तयारीमा छन् । उनी भविष्यमा राम्रो कलाकार बन्ने सपना बोकेर अघि बढिरहेकी छन् ।

गण्डकी प्रदेशमा पछिल्ला वर्षहरूमा विद्यालयस्तरमा नाट्यशिक्षाको विस्तार भइरहेको छ । विशेषगरी पोखरामा विभिन्न नाट्य संस्थाहरूले विद्यालयसँग सहकार्य गरेर नियमित नाट्य कक्षा सञ्चालन गरिरहेका छन् । यस अभियानमा पोखरा थिएटरजस्ता संस्थाहरू सक्रिय छन् । रंगकर्मीहरू विद्यालयमै पुगेर विद्यार्थीलाई अभिनय, अभिव्यक्ति, प्रस्तुति र सामाजिक विषयवस्तुमा आधारित नाटकमार्फत प्रशिक्षण दिने काम गरिरहेका छन् ।

यसले विद्यार्थीलाई केवल कलाकार बनाउने होइन, आत्मविश्वासी नागरिक बनाउने काम गरिरहेको सरोकारवाला बताउँछन् । अहिलेको पुस्तामा बढ्दो एक्लोपन, डिजिटल निर्भरता र संवादहीनताबीच नाट्यशिक्षाले विद्यार्थीलाई प्रत्यक्ष संवाद, सहकार्य र संवेदनशीलताको अभ्यास गराइरहेको छ । नाटकले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी समाज बुझ्न सिकाउने काम गरिरहेको छ ।

स्क्रिप्ट लेखन, निर्देशन, अभिनय, संगीत तथा दृश्य व्यवस्थापनजस्ता पक्षहरूले सिर्जनशीलता र कल्पनाशीलता बढाउन मद्दत गर्छन् । विद्यार्थीहरू केवल दर्शक होइन, सर्जकका रूपमा पनि विकसित भइरहेका छन् ।
नाट्य कक्षापश्चात् परिवर्तन अनुभव गर्ने विद्यार्थीमध्ये एलिजा बराल पनि एक हुन् । कक्षा ९ मै अध्ययनरत एलिजा केही वर्षअघिसम्म मञ्चमा उभिनासाथ डराउने गर्थिन् । अहिले भने उनी विद्यालयका कार्यक्रमदेखि नाटक मञ्चनसम्म सहज रूपमा सहभागी हुन्छिन् । एलिजाका अनुसार नाटकले अभिनय मात्र सिकाउँदैन, विभिन्न संस्कृति बुझ्ने, समूहमा काम गर्ने, नेतृत्व गर्ने र अरूको भावना बुझ्ने क्षमता पनि विकास गर्छ ।

१० वर्षीया आविरा अधिकारी यसको अर्को उदाहरण हुन् । कक्षा ५ मा अध्ययनरत आविराले पछिल्ला तीन वर्षदेखि नाटक सिकिरहेकी छन् । उनका अभिभावक विकास अधिकारीका अनुसार नाटक सिक्नुअघि उनी धेरै नबोल्ने र लजालु स्वभावकी थिइन् । तर रंगमञ्चसँग जोडिएपछि उनको व्यवहारमा उल्लेखनीय परिवर्तन आएको छ ।

थिएटर पुग्नेमा विद्यार्थी बढी

२०७४ सालको फागुनबाट पोखरा थिएटर सञ्चालनमा आएपछि हालसम्म ३ लाख ५० हजार दर्शकले नाटक हेरेको थिएटरको तथ्याङ्क रहेको छ । नाटक हेर्नेमा अधिकांश विद्यार्थी रहेका छन् । पोखरा थिएटरका संस्थापक अध्यक्ष परिवर्तनले दिएको जानकारी अनुसार नाटक हेर्नेमा ३ लाख विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । बाँकी ५० हजार हालसम्म थिएटरमा पुगेर हेरेका अन्य दर्शक रहेका छन् । नाटक हेर्न पुग्ने अधिकांश विद्यार्थीहरु बुकिङ सो मार्फत थिएटरमा पुग्ने गरेका छन् । यो तथ्याङ्कले समेत नाटकप्रतिको विद्यार्थीको आर्कषणलाई मात्र पुष्टि गर्दैन पोखराको रंगमञ्चलाई बलियो खम्बाको रुपमा सहारा दिइरहेको प्रष्ट हुन्छ ।

२ हजार भन्दा बढी विद्यार्थी नाटक पढ्दै

पोखरामा २०७६ बाट विद्यालय नाटक महोत्सव र विद्यालयमा नाटक कक्षा सञ्चालन गर्न सुरु गरिएको थियो । फलस्वरुप पोखराका विभिन्न विद्यालयहरूले नाट्य शिक्षालाई अतिरिक्त क्रियाकलापका रूपमा समावेश गर्न थालेका छन् । केही विद्यालयले थिएटरमा कार्यरत रंगकर्मीबाटनै कक्षा दिइरहेका छन् । केहीले आफ्नै तरिकाले त केहीले विज्ञ राखेर यसको प्रयोग गरिरहेका छन् । केहीले सुरु गरेर पनि निरन्तरता दिन सकेका छैन् ।

पोखरा थिएटरले अहिलेसम्म ३० भन्दा बढी विद्यालयमा नाटकको कक्षा सञ्चालन गरिसकेको छ । कुनै वर्ष १४ वटा विद्यालयमा नाट्य कक्षा सञ्चालन गरेको थिएटरले यो वर्ष भने ९ वटा विद्यालयमा सञ्चालनमा छ । केही विद्यालयले नाटक प्रति रुचि भएका विद्यार्थी छनोट गरि कक्षा सञ्चालन गरिरहेका छन् भने केही विद्यालयले कक्षाका सबै विद्यार्थीलाई एक दिन साप्ताहिक रुपमा कक्षामा सहभागी गराउने गरिएको पाइन्छ । जस मार्फत २ हजार भन्दा बढी विद्यार्थी नाट्य शिक्षाको कक्षामा सहभागी बनिरहेका छन् । थिएटर सँग जोडिएर नाट्य शिक्षा दिनेमा नीजि विद्यालय बढी छन् । यस्तो शिक्षा दिएका केही सामुदायिक विद्यालयले अहिले निरन्तरता दिन सकेका छैनन् । केही विद्यालयमा आवश्यकता अनुसार नाट्य शिक्षा दिने र स्कुलमा हुने कार्यक्रममा नाटकमा अभिनय गराउने गरिएको समेत पाइन्छ ।

विद्यालयमा नाट्य शिक्षा लिन नपाएका यसतर्फ रुचि भएका विद्यार्थीले थिएटरमा गएर फुर्सदको समयमा कक्षा लिने गरेका समेत छन् । यसरी हालसम्म २ सय जतिलाई नाटक सिकाइएको पोखरा थिएटरको तथ्यांक छ ।त्यसो त शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले दिएको तथ्याङ्क अनुसार कास्कीका ३ सय ६४ सामुदायिक र २ सय ३० संस्थागत विद्यालयमा २ लाख ५७ हजार ९ सय ६० विद्यार्थी अध्ययनरत रहेका छन् । यो तथ्यांकका आधारमा हेर्दा नाट्य शिक्षा अध्ययन हुने विद्यालय र विद्यार्थीको संख्या ज्यादै न्युन रहेको छ ।

साप्ताहिक रुपमा नाटकको पढाइ हुने सनफलावर माध्यमिक विद्यालयका प्रिन्सिपल अमर माइकल गुरुङका अनुसार कक्षा ४ देखि ९ सम्मका विद्यार्थीले हप्तामा एक दिन नाटकको कक्षा लिने गरेका छन् ।
उनका अनुसार नाटकले विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्नुका साथै व्यवहारिक ज्ञान, स्पष्ट अभिव्यक्ति क्षमता, पारिवारिक सम्बन्ध सुधार तथा सामाजिक व्यवहार सिकाउन मद्दत पुर्‍याएको छ । अभिभावकबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका इकाइ प्रमुख लोकनाथ आचार्यले विद्यार्थीभित्र रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्नु नै पहिलो राष्ट्रिय उद्देश्य भएको बताउँछन् । आचार्यका अनुसार अहिले शिक्षण सिकाइ प्रक्रियामा नाटकीय शैलीलाई प्रभावकारी माध्यमका रूपमा अपनाउन थालिएको छ । शिक्षकले हाउभाउ, अभिनय र प्रस्तुतीकरण शैलीसहित पढाउँदा विद्यार्थीले विषयवस्तु छिटो बुझ्ने उनले बताए ।

उनले नाटक केवल मनोरञ्जनको माध्यम मात्र नभई शिक्षण सिकाइको प्रभावकारी विधि पनि भएको उल्लेख गर्दै शिक्षक र विद्यार्थी दुवैलाई नाट्य क्षेत्रप्रति सचेत तथा आकर्षित गराउन आवश्यक रहेको औंल्याए ।

(नाटकले अभिनय मात्र सिकाउँदैन, विभिन्न संस्कृति बुझ्ने, समूहमा काम गर्ने, नेतृत्व गर्ने र अरूको भावना बुझ्ने क्षमता पनि विकास गर्छ)

नाट्य क्षेत्रको विकास गण्डकी सरकारको प्रयास

गण्डकी प्रदेश सरकारले समेत नाट्य क्षेत्रको विकासका लागि केही प्रयास भने गरेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार गण्डकी प्रदेशमा नाट्य क्षेत्रको विकासका लागि विगतमा विभिन्न कार्यक्रम सञ्चालन गरिएका थिए ।

नाटक लेखन तथा निर्देशन कार्यशाला, नाटक मञ्चनका लागि आर्थिक सहयोग, काठमाडौंस्थित रसियन हाउसमा पोखराका नाटकको प्रस्तुति तथा ‘गण्डकी नाट्य दर्पण’ जस्ता ऐतिहासिक पुस्तक प्रकाशनले प्रदेशको नाट्य इतिहास संरक्षणमा योगदान पु¥याएको उनी बताउँछन् ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा महाशाखाका शाखा अधिकृत प्रकाश ओझाले बालबालिकाको विकासका लागि विद्यालयमा नाटक निकै आवश्यक रहेको बताए । उनका अनुसार नाटक भनेको केवल मनोरञ्जनको माध्यम मात्र होइन, बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र प्रतिभा उजागर गर्ने प्रभावकारी माध्यम हो । उनले अहिलेका बालबालिका मोबाइल र बनिबनाउ भिडियोमा बढी व्यस्त भइरहेका बेला नाटकले उनीहरूलाई वास्तविक जीवन र समाजका विषय बुझ्न मद्दत गर्ने बताए ।

प्रयास पर्याप्त छैन
गण्डकी प्रदेशलाई नाट्य शिक्षाको नमुना प्रदेश बनाउन सकिने पर्याप्त सम्भावना छ । रंगकर्मी माओत्से गुरुङ नाट्य शिक्षालाई विद्यालय तहदेखि नै व्यवहारिक रूपमा लागू गर्न प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने बताउँछन् । पाठ्यपुस्तकमा नाटक समावेश भए पनि त्यसलाई पढेर मात्र नभई मञ्चन प्रक्रियासहित प्रयोगात्मक रूपमा सिकाउने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । नाटक तथा रंगमञ्चको विकासका लागि प्रदेश सरकारले व्यवस्थित नाट्यशाला, स्टेज थिएटर र आवश्यक पूर्वाधार निर्माणमा लगानी गर्नुपर्नेमा उनले जोड दिएका छन् । कला, साहित्य र संस्कृतिको क्षेत्रमा पर्याप्त बजेट तथा प्राथमिकता नदिइएको भन्दै यसतर्फ राज्यको ध्यान जानुपर्छ, हालसम्म अधिकांश गतिविधि निजी प्रयासमै भएका छ्न ।

‘विद्यार्थीलाई सानै उमेरदेखि कला र नाटकबारे बुझाउन आवश्यक छ । पाठ्यपुस्तकमा नाटक भए पनि त्यसलाई पढेर मात्र पुग्दैन, नाटक कसरी मञ्चन हुन्छ र त्यसका लागि के–कस्ता तयारी आवश्यक पर्छन् भन्ने कुरा प्रयोगात्मक रूपमा सिकाउनुपर्छ ।’

प्राथमिकता भएन
आजको पुस्ता मोबाइल, भिडियो, छोटा सामग्री र सामाजिक सञ्जालमा अभ्यस्त छ । उनीहरूको सिकाइ शैली अघिल्लो पुस्ताभन्दा फरक छ । उनीहरू दृश्य, ध्वनि र प्रत्यक्ष अनुभवबाट छिटो सिक्छन् । यही कारण नाटक डिजिटल पुस्ताका लागि प्रभावकारी शैक्षिक माध्यम बन्न सक्छ ।

नाटकमा अभिनय, संगीत, दृश्य, संवाद र प्रस्तुति सबै समावेश हुन्छन् । यसले डिजिटल पुस्ताको ध्यान तान्न सक्छ । अहिलेका विद्यार्थी टिकटक, रिल्स वा युट्युबमा अभिव्यक्ति दिन सहज मान्छन् । तर त्यही अभिव्यक्तिलाई सिर्जनात्मक, अनुशासित र सामाजिक दिशामा लैजान विद्यालयस्तरको नाट्यशिक्षा आवश्यक देखिन्छ ।

रंगकर्मी प्रमिला तुलाचन आजको प्रविधिमैत्री युगमा बालबालिकाका लागि नाट्य शिक्षा अत्यन्त आवश्यक रहेको बताउँछिन् । नाटकमार्फत बालबालिकाले सिक्ने अवसर प्राप्त गर्नुका साथै नेतृत्व क्षमता विकास गर्ने, समूहमा आत्मविश्वासका साथ बोल्न सक्ने, समाजका विषयवस्तु बुझ्ने र सामाजिक उत्तरदायित्वबारे जान्ने अवसर पाउने उनको भनाइ छ ।

डिजिटल युगले विद्यार्थीलाई सूचना त धेरै दिएको छ, तर संवेदना कम गराएको भन्ने बहस पनि छ । विद्यार्थी भर्चुअल संसारमा धेरै भए पनि प्रत्यक्ष संवादमा कमजोर हुँदै गएको शिक्षकहरूको अनुभव छ । नाटकले यही कमजोरी कम गर्न सक्छ । यसले विद्यार्थीलाई प्रत्यक्ष संवाद, सहकार्य र भावनात्मक समझदारी सिकाउँछ ।

अर्कोतर्फ, डिजिटल माध्यम र नाटकबीच प्रतिस्पर्धा मात्र छैन, सहकार्यको सम्भावना पनि छ । अहिले विद्यालयमा डिजिटल सामग्री, भर्चुअल सिकाइ र मल्टिमिडिया प्रयोग बढाउने सरकारी नीति अघि बढिरहेको छ । यस्तो अवस्थामा नाटकलाई पनि डिजिटल प्रस्तुति, भिडियो नाटक, रेडियो नाटक वा मल्टिमिडिया प्रदर्शनसँग जोडेर आधुनिक बनाउन सकिन्छ ।

नेपालको विद्यालय पाठ्यक्रममा सिर्जनात्मक कला, अतिरिक्त क्रियाकलाप र व्यावहारिक सिकाइका विषय समावेश छन् । शिक्षा ऐन तथा नियमावलीले स्वीकृत पाठ्यक्रम लागु गर्न विद्यालयलाई बाध्यकारी व्यवस्था गरेको छ । तर व्यवहारमा नाट्यशिक्षाले पर्याप्त स्थान पाउन सकेको छैन । विद्यालयहरूको मुख्य ध्यान अझै परीक्षाफलमै केन्द्रित छ ।

पोखरा थिएटरका संस्थापक अध्यक्ष समेत रहेका परिवर्तनले नाटकमार्फत बालबालिकाले भाषा विकास, संवाद कला, कल्पनाशक्ति, अनुशासन, जिम्मेवारीबोध तथा समस्यालाई सिर्जनात्मक ढंगले समाधान गर्ने क्षमता समेत विकास गर्न सकिने बताउँछन् । यही उद्देश्यलाई केन्द्रमा राख्दै थिएटरले विद्यालय केन्द्रित नाट्य प्रशिक्षण, बालनाटक मञ्चन, नाट्य कार्यशाला तथा कलाकार विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ‘एडु स्टेज प्रोजेक्ट’ मार्फत् नाटकलाई शिक्षण–सिकाइको प्रभावकारी उपकरणका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । साथै विद्यार्थी, शिक्षक र विद्यालय समुदायलाई नाट्य शिक्षासँग जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

विद्यालय केन्द्रित नाट्य गतिविधिलाई बलियो बनाउनुपर्छ
रंगकर्मी अनुप बरालको भनाइमा पोखरा केवल प्राकृतिक सुन्दरताले चिनिएको सहर मात्र होइन, कला, संस्कृति र सिर्जनशीलताको पनि उर्वर भूमि हो । तर यहाँको रङ्गमञ्चीय गतिविधि अझै सीमित दायरामै केन्द्रित देखिन्छ । केही नाटकघर, सीमित दर्शक र अनियमित मञ्चनका बीच पोखराको थिएटरले आफ्नो स्थायी भविष्य खोजिरहेको छ । यस्तो अवस्थामा विद्यालय केन्द्रित नाट्य गतिविधिलाई बलियो बनाउनु नै दीर्घकालीन समाधान बन्न सक्छ ।

विद्यालय तहमा नाटकलाई शिक्षासँग जोड्न सकियो भने विद्यार्थीहरूमा आत्मविश्वास, अभिव्यक्ति क्षमता, सहकार्य र नेतृत्व विकास हुने सम्भावना अत्यन्त उच्च हुन्छ । अहिलेको डिजिटल युगमा धेरै बालबालिका मोबाइल र सामाजिक सञ्जालमा सीमित भइरहेका बेला नाटकले उनीहरूलाई वास्तविक संवाद र सामाजिक सम्बन्धतर्फ फर्काउने माध्यम बन्न सक्छ ।
पोखरामा रङ्गमञ्चले भोगिरहेको मुख्य समस्या भनेकै दर्शकको अभाव हो । यदि विद्यार्थीहरूले सानैदेखि नाटक हेर्ने, बुझ्ने र अभिनय गर्ने अवसर पाए भने उनीहरू भविष्यमा पनि थिएटरसँग जोडिइरहने सम्भावना रहन्छ। यसरी विद्यालय स्तरबाटै ‘दर्शक निर्माण’ को प्रक्रिया सुरु गर्न सकिन्छ ।

विश्वका धेरै देशले विद्यालय नाटकलाई शिक्षाको महत्वपूर्ण अङ्गका रूपमा अपनाएका छन् । भारतको नेशनल स्कुल अफ ड्रामा अन्तर्गत सञ्चालन भएको ‘थिएटर इन एजुकेसन’ मोडेल दक्षिण एसियामै सफल अभ्यासका रूपमा चिनिन्छ । यस मोडेलले नाटकलाई केवल मञ्चीय प्रस्तुति नभई शिक्षण विधिको रूपमा प्रयोग गरेको छ । त्यस्तै बेलायतमा सुरु भएको ‘थिएटर इन एजुकेसन’ अभियानले कक्षाकोठालाई नै रङ्गमञ्चमा रूपान्तरण ग¥यो । इतिहास, विज्ञान वा सामाजिक विषयलाई अभिनय र संवादमार्फत पढाउने अभ्यासले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको अनुभवात्मक शिक्षा प्रदान ग¥यो । अमेरिकामा प्रयोग भइरहेको ‘ड्रामा थेरापी’ ले नाटकलाई मानसिक स्वास्थ्यसँग समेत जोडेको छ ।
रंगकर्मी बरालले पोखरामा हंसध्वनी नाटकघर सञ्चालन गर्न लागेका छन् । नाटक घरको औपचारिक सुरुवात नभएपनि तालिम, कार्यशाला लगायतका गतिविधि भने सुरु भइसकका छन् ।

चुनौती उत्तिकै
नाट्य क्षेत्रले अहिले विभिन्न चुनौतीहरू सामना गरिरहेको छ । डिजिटल प्लेटफर्मको तीव्र विस्तारले युवा पुस्तालाई छिटो र सजिलो मनोरञ्जनतर्फ आकर्षित गरिरहेको छ । यसले प्रत्यक्ष कला र रंगमञ्चप्रतिको रुचिमा असर पार्ने जोखिम बढेको छ ।
यसका अतिरिक्त पर्याप्त लगानी, पूर्वाधार, नाटकघर, प्रशिक्षक तथा संस्थागत सहयोगको अभावले नाट्य क्षेत्रको विस्तारमा अवरोध सिर्जना गरिरहेको छ । पोखरा शिक्षा, पर्यटन, खेलकुद र कला–संस्कृतिको केन्द्रका रूपमा विकास हुँदै गएको शहर हो । यहाँ विभिन्न सांस्कृतिक गतिविधि, संगीत कार्यक्रम र साहित्यिक अभियान भइरहेका छन् । तर विद्यालय तहमा नाटक अध्ययन गराउने र विद्यार्थीलाई थिएटरसम्म ल्याउने विषय भने अझै चुनौतीपूर्ण देखिन्छ ।

विश्वका धेरै देशमा विद्यालय शिक्षा प्रणालीभित्र नाटकलाई अनिवार्य वा सह–शैक्षिक गतिविधिका रूपमा समेटिएको पाइन्छ । तर पोखराका अधिकांश विद्यालयमा अझै पनि नाटकलाई गम्भीर अध्ययनको विषयका रूपमा लिइँदैन । विद्यालयहरूमा संगीत र नृत्यलाई केही हदसम्म प्राथमिकता दिइए पनि नाटक शिक्षाको अवस्था कमजोर छ । धेरै विद्यालयमा नाटक सिकाउने प्रशिक्षित शिक्षक नै छैनन् । कतिपय विद्यालयले वार्षिक उत्सव वा विशेष कार्यक्रममा मात्रै विद्यार्थीलाई अभिनय गराउने गर्दछन् । यसले नाटकलाई निरन्तर सिकाइभन्दा पनि औपचारिक कार्यक्रममा सीमित बनाएको छ ।

अभिभावक र विद्यालय प्रशासनको सोच पनि अर्को चुनौती हो । धेरैले नाटकलाई ‘अतिरिक्त गतिविधि’ मात्र ठान्ने गरेका छन् । विद्यार्थीले नाटकमा समय खर्च गर्दा पढाइ कमजोर हुन्छ भन्ने गलत धारणा अझै समाजमा देखिन्छ । त्यसैले विद्यार्थीमा रुचि भए पनि उनीहरूले पर्याप्त अवसर पाउन सकिरहेका छैनन् । विद्यालय र थिएटरबीच समन्वय कमजोर हुँदा विद्यार्थी प्रत्यक्ष रंगमञ्चीय अभ्यासबाट टाढा भइरहेका छन् । नाटक शिक्षाका लागि मञ्च, प्रकाश, ध्वनि, पोसाक र अभ्यासस्थल आवश्यक पर्छ । तर धेरै विद्यालयसँग यस्तो पूर्वाधार छैन । निजी विद्यालयले केही कार्यक्रम गरे पनि सामुदायिक विद्यालयमा स्रोत अभाव ठूलो समस्या बनेको छ ।

त्यस्तै, थिएटर सञ्चालन गर्ने संस्थाहरू पनि आर्थिक समस्याबाट गुज्रिरहेका छन् । दर्शक संख्या कम हुनु, टिकट संस्कृतिको विकास नहुनु र सरकारी सहयोग न्यून हुनुका कारण नियमित बाल नाटक वा विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्न कठिन भइरहेको छ ।

अन्य जिल्लामा फैलाउने प्रयास
यतिबेला पोखरामा एउटा नाटकघर सञ्चालनमा छ भने अर्को सञ्चालनको चरणमा रहेको छ । नाट्य गतिविधिको केन्द्रका रूपमा रहने नाटकघरलाई पर्याप्त संस्थागत संरक्षण प्राप्त हुनुपर्ने आवश्यकता देखिएको छ । पोखरामा विकसित हुँदै गएको नाट्य संस्कृतिले अहिले प्रदेशका अन्य जिल्लालाई पनि सकारात्मक प्रभाव पार्न थालेको छ ।

नवलपुरमा पनि यसको प्रभाव देखिन थालेको ह्याप्पी एफएमका स्टेशन म्यानेजर आर्दश सुशील बताउँछन् । उनका अनुसार त्यहाँ विद्यालयस्तरमा नाटकको वातावरण बनाउन विभिन्न प्रयास भएका छन् । अस्थायी नाटकघर निर्माण गरेर नाटक मञ्चन गर्दा विद्यालयहरूको उत्साहजनक सहभागिता देखिएको उनी बताउँछन् । ‘पोखराबाट केही नाटक लगेर पनि मञ्चन गरियो । त्यसपछि विद्यालयहरूले नाटकप्रति चासो देखाउन थाले,’ उनले भने ।

 

उनका अनुसार अहिले सामुदायिक र संस्थागत विद्यालयहरू नाटकको कक्षा सञ्चालन गर्न इच्छुक देखिए पनि दक्ष शिक्षकको अभाव ठूलो चुनौती बनेको छ । नाटकप्रतिको आकर्षण बढाउन स्थायी नाटकघरको आवश्यकता समेत महसुस गरिएको उनले बताए ।
तनहुँ, स्याङ्जा, लमजुङ, पर्वत लगायत गण्डकीका जिल्लामा समेत विद्यालयमा नाटकले स्थान पाउन थालेको छ ।

जिम्मेवार नागरिक निर्माण
आजका विद्यार्थीहरूमा बढ्दो डिजिटल निर्भरता, आत्मविश्वासको कमी र सामाजिक अन्तरक्रियामा आएको कमीका बीच नाट्य शिक्षा एउटा प्रभावकारी समाधानका रूपमा देखिएको छ । यसले विद्यार्थीलाई बोल्न, सोच्न, सिर्जना गर्न र नेतृत्व गर्न सिकाउँछ । नाटकले केवल कलाकार उत्पादन गर्दैन, जिम्मेवार नागरिक निर्माण गर्छ ।

शिक्षा केवल परीक्षा र अंकमा सीमित हुन नसक्ने बहस भइरहेका बेला नाट्यशिक्षाले जीवन बुझ्ने, समाजसँग जोडिने र आत्मविश्वासका साथ आफ्ना कुरा राख्ने सीप विकास गरिरहेको छ । त्यसैले विद्यालयमा नाटकलाई अतिरिक्त क्रियाकलाप मात्र होइन, आवश्यक जीवनोपयोगी शिक्षाका रूपमा लिनुपर्ने आवश्यकता झन् बलियो बन्दै गएको छ । जसको पुष्टि नाट्य शिक्षा लिएका विद्यार्थीमा आएको परिवर्तनबाट हुन्छ ।

सायद यही कारणले, केही वर्षअघि कक्षाको कुनामा चुपचाप बस्ने विद्यार्थीहरू आज मञ्चको उज्यालोमा उभिएर आफ्ना संवाद मात्र होइन, आफ्ना सपना पनि निर्धक्क सुनाइरहेका भेटिन्छन् । अबत उनीहरुमा पढाइसँगै कलाको माध्यमबाट चिनिने भोक जागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0