पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ मा खाद्य सुरक्षा, गुणस्तर नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। कार्यालयले सोमबार आयोजना गरेको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीमा वर्षभरको कार्यसम्पादन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
कार्यालय प्रमुख विजन श्रेष्ठका अनुसार आर्थिक वर्षभर खाद्य तथा दाना उद्योगको अनुमति, नवीकरण तथा सिफारिससँगै खाद्य बजार, दाना बजार, होटल तथा रेष्टुरेन्ट, विद्यालय तथा अस्पतालका क्यान्टिनलगायत क्षेत्रमा नियमित अनुगमन गरिएको थियो। खाद्यान्न, दुग्धजन्य पदार्थ, तेल, मसला, प्रशोधित पानीलगायत विभिन्न खाद्य उद्योग तथा व्यवसायको समेत निरीक्षण गरिएको उनले बताए।
अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको कार्यालयले जनाएको छ। कास्की, तनहुँ र बागलुङमा गरी १४ लाख ९० हजार ३१ रुपैयाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको तथ्यांक सार्वजनिक गरिएको छ।
खाद्य सुरक्षा निगरानीका क्रममा वर्षभर ३०१ वटा सर्भिलेन्स नमूना र ११० वटा औपचारिक नमूना संकलन गरिएको थियो। प्रयोगशालामा कुल २ हजार ६१६ नमूना परीक्षण गर्दा १६३ वटा नमूना प्रतिकूल अर्थात् गुणस्तर मापदण्डअनुसार नभेटिएको कार्यालयले जनाएको छ। प्रतिकूल नमूनाको दर ६ दशमलव २३ प्रतिशत रहेको छ।
गुणस्तरहीन तथा न्यूनस्तरका खाद्य पदार्थ, लेबलिङसम्बन्धी मापदण्ड उल्लंघन र अनुमति नलिई उद्योग सञ्चालन गरेको पाइएपछि कार्यालयले विभिन्न निकायमा १४ वटा मुद्दा दायर गरेको छ। चाउचाउ, केचप, मुसुरो दाल, चिया, पाउरोटी, चाट मसला लगायतका खाद्य पदार्थमा गुणस्तर तथा कानुनी मापदण्ड उल्लंघन भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा २५ लाख ४८ हजार ७६ रुपैयाँ राजस्व संकलन गरेको छ। चौथो त्रैमासिक अवधिमा मात्रै ८ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको विवरण प्रस्तुत गरिएको थियो।
खाद्य स्वच्छता, पोषण, होटल तथा रेष्टुरेन्ट व्यवस्थापन, विद्यालयस्तरीय सचेतना, स्ट्रीट फुड स्वच्छता तथा गैरसर्ने रोग न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार खाद्य स्वच्छतासम्बन्धी गुनासो बढ्दै गएको छ। विशेषगरी होटल तथा रेष्टुरेन्ट क्षेत्रबाट बढी उजुरी आउने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए। आगामी दिनमा व्यवसायीसँग समन्वय गरी थप तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
गोष्ठीमा राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गर्दै आएका कामलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले वार्षिक समीक्षा कार्यक्रमलाई समेत थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन सविना सुनारले गरेकी थिइन्।
















