पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, वातावरण संरक्षण, डिजिटल सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ। विशेषगरी पोखराको पर्यटन प्रवर्द्धनका लागि रोयल ट्रेकसहित विभिन्न पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ ।

पोखरा महानगरपालिकाको १९ औं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले महानगरले पोखरालाई नेपालको पर्यटन राजधानीका रूपमा थप स्थापित गर्दै पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाए । पोखरा भ्रमण वर्षको सफलतापछि पर्यटक आगमनमा वृद्धि भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि पर्यटनमैत्री योजना अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि बहुप्रतीक्षित रोयल ट्रेक लाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अघि सारिएको छ । महानगरले अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालन हुने ‘अर्बन रेजिलियन्स लाइभेबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (यूआरएलआईपी)’ अन्तर्गत रानीवन इको ट्रेल तथा फेवाताल सुधार आयोजना सञ्चालन गर्ने जनाएको छ। यसले ट्रेकिङ मार्गको स्तरोन्नति, पर्यटक सुविधाको विस्तार तथा प्राकृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैगरी महानगरले पातलेछाँगो क्षेत्रमा सिसाको पुल निर्माण, वेगनासतालमा जलक्रीडा परियोजना, हरपन खोलामा साहसिक पर्यटनसम्बन्धी अध्ययन, ताल संरक्षण तथा सौन्दर्यीकरणका कार्यक्रम अघि बढाउने नीति लिएको छ। यी आयोजनाले पोखराको पर्यटनलाई विविधीकरण गर्दै रोयल ट्रेक क्षेत्रसम्म पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

पर्यटन पूर्वाधार विस्तारसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल जारी रहने नीति पनि महानगरले लिएको छ । यसले विदेशी पर्यटकलाई पोखरा र रोयल ट्रेक क्षेत्रमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

नीति तथा कार्यक्रममा फेवाताल संरक्षणलाई पनि उच्च प्राथमिकता दिइएको छ। तालको सीमाङ्कन, मध्यवर्ती क्षेत्र विकास, जैविक इन्जिनियरिङमार्फत संरक्षण तथा ताल क्षेत्रको व्यवस्थापनलाई निरन्तरता दिइने उल्लेख छ। फेवाताल र रोयल ट्रेक दुवै पोखराका प्रमुख प्राकृतिक आकर्षण भएकाले यी योजनाले समग्र पर्यटन क्षेत्रलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।

पूर्वाधार विकासतर्फ महानगरले वडा केन्द्र जोड्ने सडक स्तरोन्नति, रिङरोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), बसपार्क निर्माण, डिजिटल बस टर्मिनल, पदमार्ग र फुटपाथ व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी हरित यातायात, साइकल रिङरोड, विपद् जोखिम न्यूनीकरण केन्द्र, वनस्पति उद्यान, पुरानो पोखरा सम्पदा संरक्षण तथा पर्यावरणमैत्री विकासका कार्यक्रमसमेत आगामी वर्षको प्राथमिकतामा परेका छन् ।

महानगरले पर्यटन, वातावरण संरक्षण र आधुनिक पूर्वाधारलाई एकीकृत गर्दै पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0