पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–१४ नयाँ एयरपोर्ट क्षेत्रबाट जुवातास खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३ गते दिउँसो करिब ४ बजे उक्त स्थानमा जुवातास खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ९ जनालाई नगद रु ९१ हजार ५३५ तथा १ हजार ८३ पत्ति तास सहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जनाएका छन् ।
















