पोखरा । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वडा स्तरीय विकास योजना तथा कार्यक्रम तय गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ८ को आयोजनामा सोमवार योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। जनप्रतिनिधि, वडामा क्रियाशिल राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा आयोजित गोष्ठीमा वडाको समग्र विकासका लागि आवश्यक योजना, पूर्वाधार निर्माण, सरसफाइ, सुरक्षा तथा सामाजिक विकाससँग सम्बन्धित विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले वडाको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न योजना तथा कार्यक्रमहरू लिखित तथा मौखिक रूपमा प्रस्तुत गर्दै आगामी बजेट तथा कार्यक्रममा समेट्न सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रुद्रनाथ बरालले वडाका अधिकांश क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरी सिर्जनाचोकबाट निगरानी गर्ने व्यवस्था गरिएको भए पनि जेनी जी आन्दोलनका क्रममा भएको तोडफोडका कारण धेरै उपकरण क्षतिग्रस्त भएको बताए। बजेट अभावका कारण तत्काल पुनःस्थापना गर्न नसकिएको उल्लेख गर्दै उनले महानगरपालिकाबाट प्राप्त बजेटमा ६५ प्रतिशत कटौती हुँदा विकास निर्माण तथा सेवा प्रवाहमा चुनौती थपिएको बताए।वडाध्यक्ष बरालले पछिल्ला दिनमा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि टोल विकास संस्था, आमा समूह तथा सम्पूर्ण वडावासीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रत्येक नागरिकले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने र नियम उल्लङ्घन गर्नेलाई सामूहिक रूपमा खबरदारी गर्नुपर्नेमा उनले जोड दिए।
उनले वडाको विकास कुनै एक पक्षको प्रयासबाट सम्भव नहुने भन्दै सबैको सामूहिक सहभागिता र सहकार्य आवश्यक रहेको बताए । वडामा देखिएका समस्या समाधानका लागि प्राप्त सुझावहरूलाई योजनाबद्ध रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै गोष्ठीमार्फत प्राप्त महत्वपूर्ण सुझावहरू आगामी योजना तथा कार्यक्रममा समावेश गरिने जानकारी दिए।
वडाध्यक्ष बरालले निकट भविष्यमै वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने जानकारी दिँदै त्यस अवसरमा वडाबाट सम्पन्न भएका काम तथा कार्यक्रमहरूको सूक्ष्म समीक्षा गरिने बताए। जनप्रतिनिधि र नागरिकबीचको जवाफदेहिता तथा पारदर्शिता अभिवृद्धि गर्न सार्वजनिक सुनुवाइ महत्वपूर्ण माध्यम बन्ने उनको भनाइ थियो ।
वडा सचिव प्रमिला सुवेदीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य गोविन्द बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा वडा सदस्यहरू पवित्रा पौडेल, लक्ष्मी विक, हिराकाजी श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, आमा समूह तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
“जनसहभागितामूलक योजना, दिगो विकासको अभियान” भन्ने नारासहित सम्पन्न गोष्ठीमा सहभागीहरूले सडक, ढल, खानेपानी, सरसफाइ, सुरक्षा, शिक्षा, स्वास्थ्य, युवा तथा महिला सशक्तीकरणलगायत क्षेत्रका योजनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए। गोष्ठीमा प्राप्त सुझाव तथा प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षका लागि वडा नं. ८ को विकास योजना तथा कार्यक्रम तर्जुमा गरिने जनाइएको छ।
















