पोखरा । मन्टेश्वरी एशोसिएसन कास्कीले आफ्नो ११औँ स्थापना दिवस शनिबार पोखरामा विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सिकाइको प्रक्रिया जीवनभर निरन्तर चलिरहने बताए । उनले डिग्री वा पीएचडी हासिल गर्दैमा सिकाइको यात्रा समाप्त नहुने उल्लेख गर्दै ज्ञान आर्जनको प्रक्रिया जीवनपर्यन्त जारी रहने धारणा व्यक्त गरे । बाल्यकालमा सिकेको संस्कार र व्यवहारले व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्ने भएकाले प्रारम्भिक शिक्षाको महत्व अत्यन्त ठूलो रहेको उनको भनाइ थियो । बालबालिकामा असल संस्कार, अनुशासन र सामाजिक मूल्य विकास गर्न मन्टेश्वरी शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
कार्यक्रममा बोल्दै मन्टेश्वरी एशोसिएसन कास्कीकी संस्थापक अध्यक्ष अरुणा शेरचनले संस्थाको स्थापना कालका दिनहरूको स्मरण गरिन्। उनले कास्की जिल्लामा सञ्चालित मन्टेश्वरी विद्यालयहरूको भेलाबाट तदर्थ समिति गठन गरी संस्थाको औपचारिक सुरुवात गरिएको जानकारी दिइन् । संस्थाको परिकल्पना गर्ने ६ जना व्यक्तिको सक्रिय पहलबाट एशोसिएसन स्थापना भएको उल्लेख गर्दै संस्थाले विगत ११ वर्षमा बाल शिक्षाको गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याएको बताइन्।
एशोसिएसनकी अध्यक्ष रितु पौडेलले सबै सदस्य विद्यालय, पदाधिकारी तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण संस्था ११औँ स्थापना दिवससम्म आइपुगेको बताइन्। उनले संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा निवर्तमान अध्यक्षहरूले संस्थाको विकास र विस्तारमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि संस्थालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका कृष्ण प्रसाद भण्डारी, एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी तथा कार्यक्रम संयोजक मोहन प्रसाद त्रिपाठी लगायतले मन्टेश्वरी एशोसिएसनका गतिविधि, उपलब्धि र भावी कार्यक्रमबारे चर्चा गरेका थिए।
स्थापना दिवसको अवसरमा एशोसिएसनमा आबद्ध ४० सदस्य विद्यालयमा कार्यरत कर्मचारी तथा सवारी चालकहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले विद्यालय सञ्चालन र बालबालिकाको सुरक्षित आवागमनमा पुर्याएको योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सदस्य विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी तथा विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्टेश्वरी शिक्षाको विकास, बालमैत्री शिक्षण पद्धतिको प्रवर्द्धन तथा संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। ११औँ स्थापना दिवसले संस्थाको विगतको योगदानको समीक्षा गर्नुका साथै आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
















