पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३’ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिताहरू सम्पन्न भएका छन्। खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी तथा प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा आइतबार मुवा थाई, हक्की तथा क्योकुशिन करातेका खेलहरू सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार महोत्सवमा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। उनले खेलकुदको माध्यमबाट नयाँ प्रतिभाको पहिचान र विकास गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार महोत्सव आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ भने सोमबार टेबुलटेनिस प्रतियोगिताका खेलहरू आयोजना गरिनेछन् ।

महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएको छ। तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता रहेका छन् भने पाँच वटा खेल ग्रासरुट तहका खेलाडीलाई लक्षित गरी सञ्चालन गरिएका छन्। यसका साथै ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेटजस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन्। यसले खेलकुद क्षेत्रमा समावेशिताको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ ।

क्योकुशिन कान कराते प्रतियोगिताका संयोजक समेत रहेका समितिका सदस्य लक्ष्मण कुँवरले ग्रासरुट तहका खेलाडीहरूको विकासलाई प्राथमिकतामा राखेर प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार तौल समूहका आधारमा छात्र र छात्रा दुवैको सहभागिता सुनिश्चित गरिएको छ। क्योकुशिन कान करातेतर्फ मात्रै कास्की जिल्लाका १५ वटा डोजोबाट कुल १ सय १० जना खेलाडी सहभागी भएका छन् ।

यसअघि शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा उनले खेलकुदलाई युवाको क्षमता विकास, अनुशासन र स्वस्थ जीवनशैलीसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताएका थिए ।

आयोजकका अनुसार महोत्सवले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै समावेशी खेल संस्कृतिको विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ। महोत्सव अवधिभर विभिन्न खेल प्रतियोगिता, प्रदर्शन तथा प्रतिभा पहिचानसम्बन्धी गतिविधिहरू सञ्चालन हुने समितिका सदस्य सचिव सुरज अधिकारीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0