पोखरा । विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन गरिएको छ। अधिकारी समाज कास्की अन्तर्गत इकाई समिति प्रस्याङको आयोजनामा सम्पन्न कार्यक्रममा रक्तदानसँगै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि गरिएको हो।
इकाई समिति प्रस्याङका अध्यक्ष रुद्र प्रसाद अधिकारीले रक्तदान मानवताको सेवासँग प्रत्यक्ष जोडिएको महान कार्य भएको बताए। उनले स्वेच्छिक रक्तदानबाट बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वका यस्ता अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका–५ प्रस्याङस्थित धर्मस्थली विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो । समाजका अनुसार कार्यक्रममा स्थानीयवासी, युवायुवती तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो।
तोपबहादुर अधिकारीको प्रमुख आतिथ्यातमा भएको कार्यक्रममा इकाई समिति प्रस्याङका सचिव पुष्पराज अधिकारी तथा अधिकारी समाज कास्कीका महासचिव एवं कार्यक्रम संयोजक हरिश्चन्द्र अधिकारीले समन्वय तथा व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए।
कार्यक्रममा समुदायका करिब १० जना ज्येष्ठ नागरिकलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । समाजमा उनीहरूले पुर्याएको योगदान, अनुभव र प्रेरणाको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटीले प्राविधिक टोली, आवश्यक सामग्री तथा व्यवस्थापन सहयोग उपलब्ध गराएको थियो । आयोजकले रक्तदाता, स्वयंसेवक तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छन् ।
















