पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गर्ने ‘खेल सप्ताह’ को सम्पूर्ण तयारी पुरा भएको छ । खेल सप्ताहको शनिबार बिहान ११ बजे पोखरा रङ्गशालामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए ।
औपचारिक उद्घाटन शनिबार भएपनि शुक्रबार दृष्टिविहीन क्रिकेट प्रतियोगिताको भने सम्पन्न भइसकेको छ । प्रतियोगिताको उपाधि टिम ‘बि’ ले जितेको छ । वर्षाका कारण १० ओभरमा खेलाइएको खेलमा टिम ‘ए’ ले ४२ रनको योगफल तयार गरेको थियो । ४३ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गरेको टिम ‘बि’ ले ९ दशमलव १ ओभरमा लक्ष्य भेटाएको दृष्टि विहीन क्रिकेट प्रतियोगिताका संयोजक समेत रहेका पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य भरत विक्रम बानियाँले जानकारी दिए । विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने उनको भनाइ छ ।

खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित आयोजना गरिएको खेल महोत्सव असार ५ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारका अनुसार खेल सप्ताहमा राष्ट्रियस्तरका र ग्रासरुट तहका प्रतियोगिता रहनेछन् । राष्ट्रिय स्तरमा मुवाथाई र साइकलिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हक्की, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस लगायतका खेल ग्रासरुट तहमा सञ्चालन गरिनेछन् । यसका अलावा ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड, बोसिया लगायतका खेल समेत हुनेछन् ।
अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो ।
समितिका सदस्य सचिव सुरज अधिकारीले मार्सल आर्ट फेस्टिभल २०८३ सहित हुने खेल सप्ताहले पोखरामा खेल संस्कृतिको विकास, नयाँ प्रतिभाको खोजी तथा विभिन्न खेल संघ–संस्थाबीच समन्वय अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको बताए ।
















