पोखरा । जिल्ला समन्वय समिति कास्कीको नवौं जिल्ला सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभा सदस्यहरू प्रकाश बराल, देवका पहारी र नन्दकला नेपालीले संयुक्त उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रकाश बराल ले जिल्ला समन्वय समिति वर्तमान कानुनी व्यवस्थाअनुसार प्राप्त अधिकारको उच्चतम प्रयोग गर्दै प्रभावकारी रूपमा काम गरिरहेको बताए । उनले जिससलाई थप मजबुत बनाउन आवश्यक कानुन निर्माण तथा व्यवस्थापनमा प्रदेश तहबाट पहल गरिने उल्लेख गरे।

प्रदेश सभा सदस्य देवका पाहारीले सदनमार्फत जिल्ला समन्वय समितिको भूमिकालाई थप सशक्त बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संघ, प्रदेश र स्थानीय तहबीच विकास समन्वय, सहजीकरण तथा अनुगमन गर्ने राजनीतिक इकाइका रूपमा जिससले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले विभिन्न कोणबाट जिससको औचित्यमाथि प्रश्न उठाउने कार्य भएको भन्दै जिल्ला सभाले त्यस्ता गतिविधिप्रति खेद व्यक्त गरेको जानकारी दिए ।

प्रमुख लिलाधर पौडेलका अनुसार जिल्ला सभाले संविधान संशोधन गरी जिल्ला समन्वय समितिलाई थप प्रभावकारी बनाउने, अधिकार र जिम्मेवारी स्पष्ट पार्ने, विकास समन्वय तथा अनुगमनकारी निकायका रूपमा सुदृढ गर्ने, योजना तथा विकास समन्वय केन्द्रको रूपमा विकास गर्ने तथा जिल्ला तथ्यांक तथा सूचना केन्द्र स्थापना गर्न माग गरेको छ ।

सभाले संघीय संसदका सदस्यहरूका लागि जिल्ला समन्वय समितिमा मुख्य सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने, ठूला योजनामा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण अनिवार्य गर्नुपर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण तथा सुशासन प्रवर्द्धनमा जोड दिनुपर्ने विषय पनि उठाएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य गणेशमान गुरुङ, नन्दकला नेपाली, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, तत्कालीन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य प्रसाद पौडेल, जिसस कास्कीका पूर्व प्रमुख बैन बहादुर अधिकारी क्षेत्री, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्याल, एमाले कास्कीका उपसचिव सन्तु सुबेदी, नेपाल कम्युनिष्ट पार्टीका खड्ग हमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोकर्ण कार्की, पोखरा चेम्बर अफ कमर्स का अध्यक्ष उमराज बास्तोला, नेपाल रेडक्रस सोसाइटी कास्की की अध्यक्ष उर्मिला खड्का, तनहुँ जिससका उपप्रमुख बासुदेब थापा तथा गैर सरकारी संस्था महासंघ कास्की की अध्यक्ष इन्दिरा पौडेल ले पनि शुभकामना व्यक्त गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम समेत पारित गरेको छ । पारित नीति तथा कार्यक्रममा विकास समन्वय, डिजिटल अनुगमन प्रणाली, वातावरण संरक्षण, फेवाताल संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, विपद् व्यवस्थापन, सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, रणनीतिक सडक आयोजना सम्पन्न गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल ले गरेकी थिइन् भने सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0