पोखरा । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा पोखराका विभिन्न रेष्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायको टोलीले पृथ्वीचोकस्थित बस काउन्टर आसपासका रेष्टुरेन्ट तथा अस्पतालको क्यान्टिनको अनुगमन गरेको हो।

अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नुपर्ने न्यूनतम मापदण्डसमेत पूरा नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठले जानकारी दिए। लामो समयदेखि ती व्यवसायबारे उपभोक्ताबाट गुनासो आइरहेकाले विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर अनुगमन गरिएको उनले बताए। उपभोक्ताले सुरक्षित र स्वच्छ खाना पाउनुपर्छ भन्ने मुख्य उद्देश्यले अनुगमन गरिएको उनले बताए ।

टोलीले अनुगमनका क्रममा पत्रपत्रिकामा बेरेर राखिएका खानेकुरा, अखाद्य रङ प्रयोग गरिएका खाद्य सामग्री तथा लेबलिङ नगरिएका खाद्य वस्तु फेला पारेको जनाएको छ। यस्तै, धेरैजसो व्यवसायमा सरसफाइको अवस्था सन्तोषजनक नभएको, भान्सा कोठाको पूर्वाधार कमजोर रहेको तथा फोहोर व्यवस्थापनका लागि आवश्यक डस्टबिनको व्यवस्था नभएको पाइएको छ।

अनुगमनमा सानो तथा अव्यवस्थित कोठामा फ्रिज राखिएको, खाद्य वस्तु भण्डारण गर्ने तरिका मापदण्डअनुसार नभएको र खाद्य स्वच्छताका आधारभूत नियमसमेत पालना नगरेको देखिएको प्रमुख श्रेष्ठले बताए । सम्बन्धित व्यवसायीलाई दर्ता तथा अनुमति सम्बन्धी कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समेत भनिएको श्रेष्ठले बताए।

अनुगमन टोलीले व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिँदै कानुनअनुसार दर्ता तथा अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता र उपभोक्ता स्वास्थ्यमा कुनै सम्झौता नगर्ने भन्दै आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0