पोखरा । विश्व खाद्य स्वच्छता दिवस २०२६ पोखरामा विशेष कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन आइतबार विशेष कार्यक्रम आयोजना गरेको हो । खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित खाद्य उपभोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्वस्थ जीवनका लागि सन्तुलित तथा पोषणयुक्त खानाको आवश्यकता अपरिहार्य रहेको बताए। उनले खाद्य सुरक्षासँगै नागरिकको स्वास्थ्य संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गरे । मानिस स्वस्थ भएर बाँच्नका लागि सन्तुलित र पोषणयुक्त खाना आवश्यक हुने भन्दै उनले खाद्य स्वच्छता र सुरक्षित खानाको प्रयोगलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्नै बताए । यसमा सरकारी निकाय, उत्पादक र उपभोक्ता सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले गुणस्तरीय खाद्य पदार्थ उत्पादन र बिक्रीका लागि उत्पादक स्वयं जिम्मेवार हुनुपर्ने बताए। उनले खाद्य वस्तु बजारमा पठाउनुअघि प्रयोगशालाबाट परीक्षण गरी प्रमाणित गर्ने अभ्यासलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिए। गुणस्तरीय खाद्य पदार्थको ग्यारेन्टी उत्पादकले नै गर्नुपर्ने भन्दै उनले खाद्य वस्तु बिक्रीका लागि राख्नुअघि नियमित रूपमा प्रयोगशालाबाट परीक्षण र प्रमाणित गरिनुपर्नेमा जोड दिए। यसका अलावा स्वस्थकर खानेकुरा छनोट र प्रयोगमा उपभोक्ता पनि उत्तिकै सचेत हुन आवश्यक रहेका उनले औल्याए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी  विरेन्द कुमार पासवान, राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष  राजेन्द लिगल, पोखरा अध्यक्ष मिलन तिवारी,  पोखरा बिज्ञान तथा प्रविधि  क्याम्पसका प्रमुख  हरि खनाल , लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, पोखरा महानगरपालिका सहकारी विभागकी कल्पना बराल, कृषि मन्त्रालयका खाद्य अधिकृत  कुमार भण्डारी, नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ नेफोस्टा पोखराका सचिव महेश बराल, ब्राह्मण समाज नेपाल कास्कीका अध्यक्ष राम प्रसाद वस्ताकोटी, दुग्ध व्यवसायी संघ कास्कीका अध्यक्ष  पुन्य प्रसाद पौडेल, होटल एशोशिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी,रेवान पोखरा महासचिव  विरेन्द्र शेरचन, विद्यार्थी  प्रदिप राज कडेल लगायतले खाद्य स्वच्छता र सुरक्षित उपभोगको महत्वबारे धारणा राखेका थिए।

कार्यालयका प्रवक्ता तथा खाद्य अधिकृत शिवजी बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन खाद्य निरीक्षक अशोक गौतमले गरेका थिए। कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले कार्यालयले सञ्चालन गरेको सप्ताहव्यापी गतिविधिबारे जानकारी गराएका थिए। उनका अनुसार जेठ १८ गतेदेखि सुरु भएको अभियानअन्तर्गत सरसफाइ कार्यक्रम, पत्रकार सम्मेलन, बजार अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गरिएको थियो।

विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनको आह्वानमा हरेक वर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ। यस वर्ष पनि खाद्यजन्य रोग न्यूनीकरण, सुरक्षित खाद्य उत्पादन तथा उपभोग प्रवर्द्धन र खाद्य स्वच्छताप्रति जनचेतना विस्तार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0