पोखरा । पोखरामा आयोजित “अपाङ्गता भएका विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम” मा एकल गायन तर्फ करिना सारू मगर र चित्रकलातर्फ भविन्द्र विष्ट प्रथम भएका छन् । जनता मावि नवलपुरमा अध्ययनरत सारू मगर र धौलागिरी आवासीय मावि बागलुङमा अध्ययनरत विष्टले नगद १५–१५ हजार रुपैयाँ हात पारे । एकल गायनमा अम्मरसिंह माविका निरोज सुवेदी द्वितीय, ज्ञानोदय मावि म्याग्दीका प्रकाश बुदुजा तृतीय र कुँडहर आधारभुत विद्यालयका कुशल बिक तथा गाउँखर्कोदय मावि तनहुँका बाल कुमार थापा सान्त्वना भए ।
चित्रकला तर्फ भक्ति नमुना मावि लमजुङका सुमन दुरा द्वितीय, सृजना बहिरा मावि कास्कीका पर्वत शर्मा तृतीय र ज्ञानोदय मावि म्याग्दीका विशाल स्रिपाली तथा जनता धन मावि बागलुङका निखिल बुढामगर सान्त्वना भए । दुवै विधाका द्वितीय तृतीय र सान्तवनाले क्रमश १२ हजार, १० हजार ५ हजार नगद सहित प्रमाणपत्र हात पारे ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशको समन्वयमा सञ्चालित कार्यक्रममा गायन तर्फ ७ र चित्रकलातर्फ ८ विद्यार्थीले भाग लिएका थिए ।
अपाङ्गता भएका विद्यार्थीहरूमा निहित कला तथा सिर्जनात्मक क्षमताको पहिचान, प्रोत्साहन र विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेशका अतिरिक्त सचिव दामोदर सुवेदीले जानकारी दिए । प्रदेशमा रहेका विभिन्न विद्यालयमा अपाङ्गता भएका विद्यार्थी रहेको भन्दै उनीहरूको चौतर्फी विकास गर्ने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आधारभूत तह कक्षा १ देखि ८ सम्म का विद्यार्थीहरूका लागि चित्रकला तथा माध्यमिक तह कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि एकल गायन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सिर्जनशील, कला र साङ्गीतिक प्रतिभा प्रस्तुत गर्दै विशेष क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रम संयोजक समेत रहेका महाशाखाका शाखा अधिकृत प्रकाश ओझाले यस्ता कार्यक्रमले अपाङ्गता भएका विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूमा रहेको प्रतिभालाई समाजमाझ उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यसपालि दुईवटा विधा समावेश गरेर विशेष विद्यालय र स्रोत विद्यालय लगायतको सहभागितामा कार्यक्रम गरिएको बताए ।
कार्यक्रमका क्रममा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो । सहभागी, अभिभावक तथा शिक्षकहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष हेम बहादुर गुरुङले यस्ता कार्यक्रमले अपांगता भएका व्यक्तिको प्रतिभा पहिचान गर्न मद्दत मिल्ने बताए । मन्त्रालय स्तरमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिएको उनको भनाइ छ ।
आयोजक संस्थाले समावेशी शिक्षा प्रवर्द्धन, समान अवसर सुनिश्चितता तथा अपाङ्गता भएका विद्यार्थीहरूको क्षमता विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ । कार्यक्रममा “हरेक प्रतिभा विशेष छ, अवसर दिऔँ, भविष्य निर्माण गरौँ” भन्ने सन्देशलाई विशेष रूपमा प्रवाह गरिएको थियो ।
एकल गायनको निर्णायक संयोजकमा लोक दोहरी गायक चोलेन्द्र पौडेल तथा सदस्यमा दिलिप गायक र बाला अधिकारी रहेका थिए । चित्रकलाको निर्णायक संयोजकमा प्राज्ञ रमेश श्रेष्ठ र सदस्यमा जित गुरुङ तथा होग्रेत भुर्तेल रहेका थिए । कार्यक्रममा महाशाखाकी उपसचिव विमलाकुमारी रेग्मी, कर्मचारी जया पौडेलले प्रतियोगिताको महत्वबारे आफ्ना धारणा राखेका थिए ।
















