पोखरा । सिनेमा क्षेत्रमा पुराना पुस्ताले नयाँ पुस्तालाई सिर्जनात्मक र फरक विषय दिन सक्नुपर्नेमा सिनेमा संवादमा चर्चा भएको छ ।
चलचित्र पत्रकार सङ्घ नेपाल, कास्कीको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ८, ल्वाङ गाउँमा शनिबार सिनेमा संवादको दोस्रो सेसनका वक्ताहरूले नयाँ पुस्ताले पुरानाको राम्रो विषय आत्मसात गर्दै जानुपर्नेमा जोड दिएका थिए । ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ विषयको सेसनमा नायिकाद्वय आचल शर्मा, सनिसा भट्टराई, नायक सलोन बस्नेतसँग सञ्चारकर्मी उत्सव रसाइली संवादमा थिए ।
संवादमा नायिका आचल शर्माले आफूहरुले अबका पुस्तालाई सर्जनात्मक र फरक विषय छाडेर जानुपर्ने बताइन् । ‘हामी अहिले नयाँ पुस्ता छौैं पछि हामी पनि पुराना पुस्ता भनेर गनिन्छौैं । त्यसैले अब आउने जेनेरेशनका लागि क्रियटिभ र डिफरेन्ट खालको भुमिजहरु आउनुपर्छ भन्ने मैले सोंचेको छु । ‘म त्यसलाई एकदमै आत्मसात गरेर आगामी दिनमा त्यसरी नै लिएर जान चाहन्छु, ’ उनले भनीन्, ‘पहिले स्टोरियो टाइम स्टोरी थियो जस्तो लाग्छ । त्यसलाई हामीले ब्रेक गरिरहेका छौं जस्तो लाग्छ । यसरी ब्रेक गर्दै अर्को पुस्तासम्म जाँदासम्म अझै ब्रेक हुनुपर्छ जस्तो लाग्छ ।’ चलचित्रमा एउटा धार चलेपछि त्यसलाई नै पछ्याउने विषय नयाँ पुस्ताले तोड्दै जानेमा उनी विश्वस्त छिन् ।
नायक सलोन बस्नेत पनि आफू स्टोरियो टाइम स्टोरी ब्रेक गर्न ‘यूनिभर्सिटी अफ गुन्डाज’ चलचित्रल ल्याउन प्रयास गरिरहेको बताउँछन् । ‘नेपाली चलचित्रमा भइरहेको यो चेन ब्रेक गर्नका लागि अन्त कतैबाट भएन भने आफैबाट गर्नुपर्छ भनेर मैले त्यही गरिरहेको छु,’ उनले भने ।
नायिक सनिसा भट्टराईले महिला शसक्तिकरणमा चलचित्र बन्नुपर्नेमा जोड दिइन् । ‘यहाँ फिमेल लिड भएको चलचित्र चल्दैन भन्ने गरिन्छ । तर, राम्रो स्टोरी जेन्डरमा फस्दैन्,’ उनले भनीन्, ‘महिलाहरुलाई पनि चान्स दिनुपर्छ । अबको नयाँ पुस्तालाई अझ राम्रो चलचित्र दिनुपर्छ भन्ने मलाई लाग्छ । जसले गर्दा पछिल्लो पुस्तालाई पाठ बनोस् ।
आफूहरु पनि पुराना पुस्तोको राम्रो कामको अनुशरण गदैै अघि बढेकाले अबको नयाँ पुस्ताले पनि आउने पुस्तालाई सोही पाठ सिकाउनुपर्ने वक्ताहरुको भनाइ थियो । नायिका आचल शर्मा पुराना पुस्ताको राम्रो कामको पदचाप पछ्याउँदै हिडेको बताउँछिन् । ‘पुरानो पुस्ताको मेहनतका कारण नै हामी यहाँ छौं जस्तो लाग्छ । उहाँहरुमा अनुशासन, कडा मेहनत, कर्मलाई माया गर्ने सिख लिएर आउनुभएको थियो । त्यो कुरा हामीलाई पास गरिरहनुभएको थियो,’ उनले भनीन्, ‘अर्को महत्वपूर्ण कुरा उहाँहरुको धैर्यता हो । उहाँहरुको धैर्यताकै कारण चलचित्र उद्योग यो लेभलमा पुगेको छ । त्यसले हामीले चलचित्रमा काम गर्न हौसला प्रदान गरिरहेको रहेको जस्तो लाग्छ ।’ अहिलेको पुस्तामा टिमवर्कले काम गरिरहेको उनको भनाइ थियो ।
नायक सलोन बस्नेतले एनालगको जमानादेखि डिजिटल युगसम्म धेरै परिवर्तन देखेको बताए । चलचित्र परिवारमा हुर्किएकाले वरपरका संसार बदलिएसँगै आफू बदलिन सहज भएको उनको भनाइ थियो । अहिले आफू नयाँ पुस्ता बनेर चलचित्र निर्माणमा होमिदा धेरै विषयसँग जुध्नुपरेको उनी सुनाउँछन् । ‘मैले धेरै कुराहरु सिके सिनेमा राजनीति पनि हुने रहेछ त्यो पनि थाहा पाएँ । यसको दोस पुस्तालाई दिन चाहन्न । यसको समस्या सिस्टममै छ,’ उनले भने, ‘सिनेमामा मलाई के सुध्रियोस जस्तो लाग्छ भने, पहिला चलचित्र चलाउने ८, १२, ३ र ६ बजेको शो फिक्स समय हुन्थ्यो । तर अहिले त्यो छैन् त्यो चाहीँ ठूलो मिस्टेक हो जस्तो लाग्छ ।’
एक जना कलाकार कुनै बेला नयाँ पुस्ता बन्छ कलान्तारमा उनीहरु नै पुराना बन्दै जाने भएकाले नयाँले संघर्ष र मेहनतमा कुनै कमजोरी गर्न नहुने नायिका सनिशा भट्टराईले बताईन् । वक्ताहरूले कलाकारहरु मात्र नयाँ र पुराना पुस्ता नभएर दर्शक पनि नयाँ पुस्ताका दर्शक हुने भएकाले ती दर्शकको मागलाई पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।














