पोखरा । नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधि चुमेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सीमित त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
पोखरामै पहिलो पटक भएको महिला गोल्डकपको उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो हाफमै १० खेलाडीमा सीमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो । पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सीमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछि रातो कार्ड पाएकी थिइन ।
३७ औं मिनेटमा आर्मीको अवसरमा पुलिसकी समीक्षा घिमिरे बाधक बनिन् । हिमा चौधरीले गरेको क्रस गोललाइन नजिकबाट समीक्षाले क्लियर गरिन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औं मिनेटमा रेखा पौडेलको प्रहारलाई आर्मीकी गोलरक्षक कोपिला खड्काले उत्कृष्ट बचाउ गर्दा रिवाइन्ड बलमा अनुस्का शेर्पाको प्रहारपनी उषाले बचाइन । ६९ औं मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।
७५ औं मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८० औं मिनेटमा अनिस्काको प्रहारमा कोपिला बाधक बनिन । ८१ औं मिनेटमा आर्मीकी चन्द्रा भण्डारीको प्रहार उषाले बचाइन । ८८ औं मिनेटमा आर्मीले स्वर्ण अवसर खेर फाल्यो । चन्द्राको पासमा हिमाको प्रहार आकाशियो । नेपाल पुलिसकी समीक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन ।
विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुल पाँच गोल गरिन् । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन् । उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुशासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त गर्यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुलिस, आर्मीसँगै सङ्कटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो ।
















