पोखरा । पोखरामा बीमा सम्बन्धी जनचेतनामूलक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजना र पोखरा चेम्बर अफ कमर्स कास्कीको सहजिकरणमा सरोकारवालाहरूसँग बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया गरिएको हो । 

गण्डकीका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले बीमा गरिसकेपछि भविष्यमा बीमा दावी गर्दा भोग्नुपर्ने झन्झटका कारण मानिसहरू बीमा गर्न द्विधामा रहेको बताइन् । बीमालाई हरेक नागरिकसम्म पुर्‍याउनुपर्ने बताउँदै उनले यसका लागि बीमा प्रक्रिया र बीमा दावी प्रक्रिया र त्यसबेला चाहिने आवश्यक कागजपत्रहरूबारे अहिले नै प्रष्ट पारिदिनुपर्नेमा जोड दिइन्। कतिपय व्यक्तिहरूले बीमाको दुरुपयोग गर्ने गरेको बताउँदै उनले त्यस्तो नगर्न र गर्न नदिन सबैले ध्यान दिनुपर्ने समेत औल्याइन् ।

नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले प्राधिकरणको काम कर्तव्य र अधिकारबारे जानकारी गराएका थिए । उनले प्राधिकरणले बीमा व्यवसायको नियमनसँगै बिमितको हकहित संरक्षण, बीमासम्बन्धी विवाद समाधान लगायतका काम गर्ने बताए । लामिछानेका अनुसार हाल प्राधिकरणमा ४ सय ९३ वटा बीमासम्बन्धी उजुरीहरू रहेका छन् । यस्ता उजुरीहरू उपर छानबिन गरी आवश्यक निर्णय गर्ने काम समेत प्राधिकरणले गर्ने उनले बताए ।

नेपाल बीमा प्राधिकरण  प्रदेश कार्यालय गण्डकीका प्रमुख शम्भु प्रसाद मिश्रले सम्पत्ति बीमालाई मुख्य प्राथमिकता दिएर अन्तरक्रिया आयोजना गरिएको बताए । कतिपय अवस्थामा बीमा गर्दा हुने त्रुटीका कारण बीमा दावी गर्दा समस्या आउने बताउँदै त्यस्तो समस्या नआओस् भनेर उद्योग व्यवसाय सञ्चालन गर्दै गर्दा गरिएका बीमाहरू उचित छन् वा छैनन्, प्रक्रियागत त्रुटि भएको छ वा छैन, भन्नेबारे सचेत गराउनका लागि बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख तथा  निप्स पोखरा च्याप्टरका निवर्तमान अध्यक्ष  दीपक राज तिवारी र  प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले  कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, सर्भेयर एशोसिएसन पोखरा, कास्की अध्यक्ष  बुद्धिराज अधिकारी, निप्स पोखरा च्याप्टर पोखरा अध्यक्ष छविलाल पौडेल लगायतले बोलेका थिए । 

बबिता पाण्डेले सञ्चालन गरेको कार्यक्रममा बिमा प्राधिकरण गण्डकीका सहायक प्रथम बलराम लामिछानेले स्वागत गरेका थिए । छलफलमा कासी गुरुङ, विष्णु बास्तोला, बोधराज सुवेदी, छविलाल गौतम, दीपक प्रसाद पराजुली, भवानी प्रसाद अधिकारी, गोकर्ण अधिकारी , दीपक आचार्यलगायतले बीमा सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0