पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिले संस्था स्थापनाको १९ औं वार्षिकोत्सवको सन्दर्भमा मुक्तक उत्सव २०८३ कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार नेपाली काङ्ग्रेस संसदीय दलको सचेतक समेत रहेका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै उनले मुक्तक मञ्चले देखाएको सक्रियताको प्रशंसा गरे। यस्ता कार्यक्रमले समाजमा सचेतना फैलाउदै भाषा संस्कार संस्कृतिको जगेर्नामा टेवा पुर्याउने विश्वास उनले गरे । यस्ता कार्यक्रमको निरन्तर आयोजनाले पुस्ता हस्तान्तरणमा सघाउ पुग्ने उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका वरिष्ठ साहित्यकार सरुभक्त्त, गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला लगायतले बोलेका थिए । कार्यक्रममा अग्रज, युवा र नवपुस्ताका मुक्तककारले मुक्तक वाचन गरे ।
संस्थाले सोही समारोहमा निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यलाई विशेष सम्मान अर्पण गर्यो भने संस्थाका नियमित मुक्तक वाचनमा सहभागी हुने तेजबहादुर तमु र उत्कृष्ट शाखातर्फ मकवानपुर शाखालाई सम्मान गरिएको थियो । मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष किरण ढकालले सम्मानित व्यक्ति तथा शाखाको परिचय दिएका थिए । कार्यक्रम सञ्चालन लोक गायक राम्जी पौडेलले गरेका थिए । ‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने नाराका साथ मुक्तक मञ्च नेपाली मुक्तकको प्रवर्द्धनका लागि क्रियाशील छन् ।
















