पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्र सरकारले प्राइभेट मिडियालाई सरकारी विज्ञापन नदिने भनेर गरेको परिपत्र प्रति प्रदेश सरकारको अब्जेक्सन रहेको बताएका छन् । शनिबार पोखरामा रेडियो अन्नपूर्णको रजत वर्ष विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले दुईटा विषयमा विमति रहेको खुलाए । गण्डकी प्रदेश सरकारले गरिरहेको कामलाई सङ्घ सरकारले एउटा परिपत्र जारी गरेर रोक्ने नसक्ने र नमिल्ने उनको भनाइ छ । तीनवटा सरकारको अधिकार क्षेत्रलाई कसैले ओभरल्याप गर्न नसक्ने उनको दावी छ ।
सरकारी तथा प्राइभेट जुन सुकै सञ्चार माध्यमले प्रतिष्पर्धा गर्नुपर्ने भन्दै कसैले संरक्षित गरेर हुर्काउन नहुनेमा मुख्यमन्त्री पाण्डेको जोड छ । सरकारी सञ्चार माध्यमले पनि निजी सञ्चार माध्यमसँग प्रतिष्पर्धा गर्नुपर्ने उनको भनाइ थियो ।
सञ्चार जगतलाई प्रदेश रजिष्ट्रार कार्यालयले दिने भनेर बनाएका कार्यक्रम नरोकिने प्रतिवद्धता मुख्यमन्त्री पाण्डेले गरे । उनले प्रदेश सरकारले गरेका कमीकमजोरी केलाउँदै सचेत गराउन आग्रह गर्दै समाजमा नकारात्मक धारणा भने नफैल्याउने ढङ्गले सामग्री प्रकाशन प्रसारण गर्न जोड थिए ।
रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशङ्कर पालिखे रेडियो स्थापना यात्राको स्मरण गदै २५ वर्षको यात्रमा रेडियोले गरेका कामको बारेमा बताए । उनले रेडियोले समाचार, सुचना र मनोरञ्जन सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गदै आइरहेको उल्लेख गरे । सामाजिक सञ्जालले गर्दा पछिल्लो समय रेडियोको लोकप्रियता घटेको जस्तो देखिएपनि विश्वसनीयताको लागि मूलधारको मिडिया आवश्यक भएको उनको भनाई थियो ।

रेडियोका संस्थापक स्टेसन म्यानेजर प्रकाश सायमीले रेडियो स्थापना सँगै भएका गतिविधि माथि प्रकाश पराका थिए । उनले विश्वमा आमसञ्चारको क्षेत्रमा भएका गतिविधिको बारेमा समेत बताए । प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियो स्थापना देखि हालसम्म धेरै चुनौतीको सामना गदै यो अवस्थामा आएको बताइन् ।
रेडियोका समाचार प्रमुख आरजु बिष्ट “सल्यानी”ले रेडियो स्थापना सहित समाचार प्रसारण गर्दाको समय स्मरण गरे । उनले रेडियोले सामाजिक कार्य सहित हाल सम्म प्रसारण भएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा पूर्व अन्नपूर्णकर्मी दिपेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले रेडियोमा काम गर्दाको अनुभव सुनाएका थिए । रजत वर्षको अवसर पारेर रेडियोले स्मारिका समेत प्रकाशन गरेको छ । स्मारिकाको मुख्य मन्त्री, गण्डकी सुरेन्द्रराज पाण्डे, रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखे, प्रबन्ध निर्देशक सुनयना पालिखे र संस्थापक स्टेसन म्यानेजर प्रकाश सायमीले संयुक्त्त रुपमा गरे ।
कार्यक्रममा रेडियोलाई विभिन्न माध्यमबाट सहयोग गर्ने तथा पोखरामा सक्रिय व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । रेडियोले प्रत्येक बर्ष प्रदान गदै आइरहेको ‘बेष्ट स्टाफ अफ द इयर’ मार्फत नारायण पौडेल सम्मानित भए । कार्यक्रमको सञ्चालन स्टेसन मेनेजर सन्जय कुमार मल्ल र कञ्चन थापाले गरेका थिए। यो सँगै रेडियाले २५ औँ वर्षमाको अवसर पारेर २०८२ बैशाख देखि आयोजना गरेको १२ महिना १२ कार्यक्रम समेत सम्पन्न भएको छ ।















