पोखरा । चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपालि पनि प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले गरेका कामहरूको प्रशंसा गरे । उनले सङ्घले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि वर्षेनी गर्दै आएको सिनेमा संवाद कार्यक्रमको चर्चा व्यापक रहेको समेत उल्लेख गरे । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरू सह्रानिय रहेको भनाई उनको छ ।  २०८३ भदौ २६ गते चलचित्र पेन्सन पट्टा रिलिज गर्ने मिति तय भएको र चलचित्र पत्रकार सङ्घ कास्कीबाट प्रचारप्रसारमा अपेक्षा रहेको उनले बताए ।  

चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले नयाँ वर्षको शुभकामना दिँदै चलचित्र पत्रकार सङ्घ कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । नयाँ कार्यसमितिको सक्रियताको प्रशंसा गर्दै उनले सङ्घले संस्थागत विकाससँगै चलचित्र पत्रकारितालाई समेत बढवा दिने खालको कार्यक्रम गर्न सुझाएका छन् ।

पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष माधव बरालले आफू पनि चपस कास्कीको संस्थापक सदस्य रहेको बताउँदै एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धी गतिविधि बढ्दै गएको उल्लेख गरे । पोखरा ओपन स्टुडियो भएको र यहाँको पर्यटन प्रवर्द्धनमा सिनेमा सँग सम्बन्धित गतिविधिले टेवा पुगेको उनले बताए । उनले चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि नीतिगत पहलकदमी हुनुपर्ने र पत्रकारले त्यसतर्फ कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले सङ्घले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै भित्तेपात्रो विमोचन गरिएको जानकारी गराए । यसअघिका कार्यसमितिले गरेका कामहरूको निरन्तरता सँगै थप नयाँ कार्यक्रम समेत सङ्घले गर्दै जाने भनाई उनको छ । कास्की लगायत खासगरि समग्र गण्डकी प्रदेश नै चलचित्र छायाँङ्कनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यसको प्रचारप्रसारमा समेत कलम चलाउन पत्रकारलाई उनको आग्रह छ । समय अनुसार प्रविधिको प्रयोग गर्दै चलचित्र पत्रकारितालाई समेत प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा पत्रकार, कलाकार, रङ्गकर्मी, गीतकार, कवि लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका उपाध्यक्ष गौरव त्रिपाठीले राखेका थिए भने सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0