पोखरा । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालिले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार यही चैत २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष परिकार, नेपाली रैथाने स्वाद तथा विविध आतिथ्य कार्यक्रममार्फत ग्राहकहरूलाई विशिष्ट अनुभव प्रदान गरिनेछ । जस अनुसार होटल पौवा पोखराले पनि ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्न लागेको कम्पनीका अध्यक्ष तुलसीराम ज्ञवालीले मङ्गलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

होटल पौवा पोखराका महाप्रबन्धक केशव भण्डारीले उत्सव अवधिभर सबै शाखामा विशेष अतिथि सत्कारसहित मौलिक नेपाली स्वाद प्रस्तुत गरिने जानकारी दिए  । उनका अनुसार कार्यक्रमका लागि देशभर करिब ४० हजार निमन्त्रणापत्र वितरण गरिएको छ ।

रुपन्देहीको सालझण्डीस्थित सात कोठे सानो घरबाट सुरु भएको होटल पौवाले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्चालन गरिरहेको छ ‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’, भन्ने मूल नारासहित अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिँदै आएको छ । 

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौँ बालापन’ अवधारणामा भैरहवा शाखामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ ।  हाल होटल पौवा सञ्जालमा झण्डै एक हजार भन्दा बढी कर्मचारी कार्यरत छन् भने २ सय ५० भन्दा बढी लगानीकर्ता रहेको कम्पनीले जनाएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्दै नेपाली आतिथ्यलाई संस्थागत रूपमा सुदृढ बनाउने लक्ष्यसहित पौवा आफ्नो विस्तार यात्रालाई निरन्तर अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0