पोखरा। राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी र्‍याली निकालिने छ । उक्त र्‍याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्न सय वटा व्यापारिक स्टल रहनेछन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ १ सय रुपैयाँ तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलुको कारोबार पनि हुनेछ ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोट बिरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि सञ्चालन गरिने आयोजक विष्णुपादुका क्लबले जनाएको छ । सदाझैँ यसपटक पनि महोत्सवमा “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” नारालाई अगाडि सारिएको छ ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिदै आएको छ । यस खेतीमा त्यहाँका करिव २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । जसको प्रति रोपनी औसत उत्पादन लागत १८ हजार ५ सय ९७ रुपैयाँ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0