पोखरा । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले पोखरासहित देशका विभिन्न जिल्लामा जनप्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेता कार्यकर्ताले जनप्रदर्शन गरेका हुन् । पोखरामा पनि एमालेले र्यालीसहित प्रदर्शन गरेको थियो । उनीहरूले सरकार विरोधी नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका हुन्। साथै जेन–जी प्रदर्शनको अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ प्रतिवेदन नमान्ने समेत बताएका छन् ।
पोखरामा आयोजित जनप्रदर्शनमा बोल्दै नेकपा एमाले अनुशासन आयोगका केन्द्रिय अध्यक्ष प्रा.डा. भरतराज पहारीले जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले पूर्वाग्रहपूर्ण ढङ्गले प्रतिवेदन ल्याएको बताए । जेनजी आन्दोलनको समयमा कार्कीले सामाजिक सञ्जालमा राखेका पोष्टले प्रतिवेदन पूर्वाग्रहपूर्ण छ भन्ने प्रष्ट हुने उनको भनाई छ ।
भदौ २३ र २४ गतेको आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरीले हिजो पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
ओलीको रिहाइको माग गर्दै एमालेले कास्कीसहित ७७ वटै जिल्ला प्रशासन कार्यलयमार्फत सरकारलाई विरोध पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई विरोधपत्र बुझाउँदै एमाले कास्कीका अध्यक्ष वैन बहादुर क्षेत्री अधिकारीले कार्की आयोगले ल्याएको प्रतिवेदन मान्य नभएको भन्दै भदौ २३ र २४ को घटनालाई पुनः निष्पक्ष छानविन गर्नुपर्ने बताए । निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सम्मानित तवरले रिहाई गर्नुपर्ने माग राखेका छन् । एमालेको शक्तिलाई नजरअन्दाज गरे एमाले कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
एमाले कास्की सचिव दर्शन लामाले भदौ २३ र २४ को आन्दोलनको समयमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सामाजिक सञ्जालमा गरेका पोष्टबाट उनी स्वतन्त्र व्यक्ति नभएको पुष्टि हुने बताए । विवादित व्यक्तिको अध्यक्षतामा ल्याइएको प्रतिवेदन प्रतिशोधपूर्ण रहेको उनले बताए । साथै निष्पक्ष सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न माग समेत गरेका छन् ।
एमालेको विरोधपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एमाले जिल्ला कमिटीको माग तत्काल सरकार समक्ष पुराउने बताइन् । साथै राजनीतिक घटनाक्रमका कारण सर्वसाधारण जनतालाई दुःख र हैरानी दिन नहुने कुरामा स्थानीय प्रशासन र राजनीतिक दल दुवै सचेत हुनुपर्ने बताइन् ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयबमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हो ।















