पोखरा । चैत ११ गतेदेखि पोखरामा ‘दोस्रो वाडा अटो सो’ हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन (वाडा)को आयोजनामा हुने अटो सो १५ गतेसम्म चल्नेछ । नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको प्रस्तुतीमा हुने वाडा अटो सो लेकसाइडको तालबाराही चोक नजिकै रहेको खेल मैदानमा हुने वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
वाडा अटो शो मा २० वटा स्टलहरू रहने आयोजकले जनाएको छ । जहाँ १६ ब्रान्डका चार पाङ्ग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहने अध्यक्ष कोइरालाले बताए । उनका अनुसार अटो सो एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
अटो सो को अवसरमा कम्पनीहरूले विशेष छुट दिने तयारी गरिएको छ । अटो सो मा प्रत्येक कम्पनीले ५० हजारदेखि एक लाखसम्म छुट दिने वाडाका महासचिव विनय थापाले जानकारी दिए । अटो सोको अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिने जनाइएको छ । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना करिब १० वटा गाडीहरू प्रदर्शनीमा राखिने अध्यक्ष कोइरालाले बताए । त्यसबाहेक रोवोट प्रदर्शनीलगायतका पनि अटो सो को आकर्षणका रुपमा रहने उनको भनाई छ । उनका अनुसार युनी ट्री जि वान ह्युमानोइड रोबोट, युनीट्री गो टु, चङ्खे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिनेछ ।
अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्ने वाडाका बरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले उल्लेख गरे । वाडा अटो सोपछि अटोमोबाइल क्षेत्रको बिक्री बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
५ दिनसम्म चल्ने अटो शोमा ४५ हजार अटोप्रेमीले अवलोकन गर्ने वाडाका उपाध्यक्ष निरन केसीले बताए । वाडा अटो सो मा प्रवेशका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियत छुट दिइने उनले बताए ।
पछिल्लो समय अटोमोबाइल क्षेत्रमा डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको बिक्री बढी हुने गरेको उपाध्यक्ष केसीले जानकारी दिए ।
















