पोखरा । विश्व उपभोक्ता अधिकार दिवस, पोखरामा उपभोक्ता अधिकारबारे छलफल तथा अन्तरक्रिया कार्यक्रमसहित मनाइएको छ । विश्व उपभोक्ता अधिकार दिवस हरेक वर्ष मार्च १५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीको समन्वय र उद्योग तथा पर्यटन मन्त्रालय आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । 

छलफलमा उद्योग तथा पर्यटन मन्त्रालयका सचिव मोतीराम सापकोटाले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रुपमा राखिएको बताए । उनले उपभोक्ता हित संरक्षणका लागि उत्पादक,  ढुवानीकर्ता, नियमन निकाय, खबरदारी गर्ने निकाय र स्वयं उपभोक्तामा समस्या देखिएकोले सो समस्या पहिचानका लागि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७६ ले उपभोक्तालाई सीमित घेरामा राखेर परिभाषित गरेको बताउँदै त्यस्ता कमजोरीहरू सुधार्नुपर्ने बताए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पोखरा पर्यटकीय सहर भएको बताउँदै पर्यटकहरूलाई पोखरामा उत्पादन हुने वस्तु एवं सेवाहरू गुणस्तरीय छन् भन्ने प्रत्याभूति दिन सकेमा पर्यटकीय चहलपहल बढाउन सकिने बताए । यहाँ पर्यटकले प्राप्त गर्ने हस्पिटालिटी देखि स्वास्थ्य सेवा, यातायातले उपभोक्ता अधिकारको अवस्था दर्शाउने बताउँदै यसतर्फ सबै पर्यटन व्यवसायी, तीनै तहका सरकार र उत्पादक एवं उपभोक्ताले समेत ध्यान दिनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेपनि राज्य र उपभोक्ताहरूले निजी क्षेत्रलाई नाफा कमाउनका लागि मात्र वस्तु तथा सेवाको उत्पादन एवं बिक्रीवितरण गरिरहेको जसरी व्यवहार गर्ने गरेको बताइन् । बजारमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र यसमा उपभोक्ता पनि सचेत हुनुपर्ने उनको भनाई छ ।

यस्तै लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बिक्रम कर्माचार्यले उपभोक्ता र उद्योगी व्यवसायीबीच अन्तरसम्बन्ध रहेको बताए । निजी क्षेत्रले उपभोक्ताकै लागि भनेर करोडौँ लगानी गर्ने गरेको बताउँदै उपभोक्ताले वस्तु तथा सेवाको उपभोग गरिदिएमात्रै निजी क्षेत्र चलायमान हुने बताए ।

अन्तरक्रियामा राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीका कपिलनाथ कोइराला, उद्योग तथा पर्यटन मन्त्रालयका महाशाखा प्रमुख महराज ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । उपभोक्ता मञ्च गण्डकीका उपाध्यक्ष रमेश पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगर अध्यक्ष मिलन प्रसाद तिवारीले गरेका थिए भने मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले धन्यवाद ज्ञापन गरेका थिए । 

कार्यक्रममा सहभागीहरूले दर्ता विनाका व्यवसायहरु बन्द गरिनुपर्ने र नियमनकारी निकायले सक्रियता देखाउनुपर्ने, खाद्य प्रयोगशालालाई व्यवस्थित बनाईनुपर्ने साथै उपभोक्ता सचेतना कार्यक्रमहरु प्रभावकारी बनाउनुपर्ने बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0