पोखरा । प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. ३ बाट विजयी बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङले काम गरेर परिणाम दिने बताएकी छन् । जितपछि प्रतिक्रिया दिँदै उनले काम गर्नका लागि म्यान्डेट दिने सबै मतदाताप्रति आभार व्यक्त गरिन् । उनले गत भदौ २३ र २४ गते आन्दोलनबाट ज्यान गुमाउनेका परिवार सम्झेर भावुक भएको उनले बताइन् जनताको समस्या र उठाएका आवाजलाई बुलन्द रुपमा उठाउने प्रतिवद्धता उनको रहेको छ ।
उनी फराकिलो मतअन्तरसहित विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार मनोज गुरुङलाई झण्डै २५ हजार मतको अन्तरले पराजित गरिन् । बिनाले ३७ हजार ७५० मत प्राप्त गर्दा काङ्ग्रेसका मनोज १२ हजार ७८० मत ल्याए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की क्षेत्र नं. ३ का अनुसार यस क्षेत्रमा कुल ६५ हजार ४०७ मत खसेको थियो । तेस्रो स्थानमा नेकपा एमाले का उम्मेदवार दामोदर बैरागी रहे । उनले ७ हजार ९०६ मत प्राप्त गरे ।
यस्तै, नेकपाका उम्मेदवार गोपाल गिरीले १ हजार ४५६ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अर्जुन खनालले १ हजार ४०६ मत ल्याए । श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६ र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६३ मत प्राप्त गरे ।
यो जितसँगै बिना गण्डकी प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित हुने एक्ली महिला सांसद बन्न सफल समेत भएकी छन् । नयाँ दलप्रतिको आकर्षण, जनजाति तथा गुरुङ समुदायको मत र सामाजिक क्षेत्रको अनुभवलाई बिनाले विजयी बन्न सहज भयो ।
रास्वपा कास्कीकी कोषाध्यक्षसमेत रहेकी उनी सञ्जीवनी सिस्टर्स एसोसिएसनकी संस्थापक अध्यक्ष हुन् । तमुधिं नेपाल, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, सिर्जना संसार कोसेली घर र कोपिला नेपालजस्ता संस्थामार्फत उनी सामाजिक कार्यमा क्रियाशील थिइन् ।
















