पोखरा । पोखरामा आयोजित उत्कृष्ट उद्यमका लागि नवप्रवर्तनशील उद्यमशीलता नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, प्रदेशका पाँच स्थानीय तह हुप्सेकोट, म्याग्दे, सिरानचोक, जलजला र बडिगाड गाउँपालिका तथा दायित्व संस्थाको सहकार्यमा मङ्गलबारदेखि पोखरामा सुरु भएको तीन दिने कार्यशाला सम्पन्न भएको हो । 

वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम ‘जिप’अन्तर्गत आयोजित कार्यशालामा ५ स्थानीय तहबाट ५५ जना उद्यमीको सहभागिता रहेको थियो । ग्रामीण उद्यमशीलता हस्तान्तरण, उत्पादन आधुनिकीकरण र रोजगारी सिर्जनालाई संस्थागत रुपमा अघि बढाउने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको जिपको कार्यक्रम संयोजक स्नेहा शाक्यले बताइन् । 

पहिलो दुई दिन सहभागीलाई व्यवस्थापन र नेतृत्व विकासको तालिम सञ्चालन गरिएको थियो भने अन्तिम दिनमा सञ्जालीकरणकाे कार्यक्रम गरिएको थियो । सञ्जालीकरणको कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ,  लेखनाथ उद्योग वाणिज्य सङ्घ सहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले आफ्नो व्यवसायिक जीवनका कथाहरूआफूले सिकेका पाठहरू सहभागी उद्योगी माझ साझा गरेका थिए ।  साथै उद्यमीहरूले भोगीरहेका चुनाैतीहरू र समस्याबारे जानकारी दिदैँ कसरी सहज वातावरण बनाउदै अगाडि बढ्न सकिन्छ भन्ने बारेमा बताएका थिए ।

सहभागी उद्यमीहरूले लगानी प्रस्तुती समेत गरेका थिए । आफ्नो पालिकाका सरोकारवालालाई आफ्नो व्यवसाय बारे प्रस्तुतीकरण दिएका थिए । यो कार्यक्रम असार मसान्तसम्मै रहने भएकोले उनीहरु पालिकामा फर्किसकेपछि प्राविधिक सीप वृद्धिको लागि १ लाख बराबरको प्रविधिको सहयोग गरिने बताइन् । उनीहरूलाई आवश्यक पर्ने प्राविधिक तालिमहरू, बजारीकरणको तालिम, ब्रान्डिङ, प्याकेजिङ तालिमको व्यवस्था गर्ने कार्यक्रम संयोजक शाक्यले बताइन् ।

यस अगाडि तालिमको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले  उद्‌घाटन गरेका थिए । वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमको पहिलो चरणमा प्रविधि पूरक साझेदारी र प्रशिक्षणमार्फत उद्यमहरूको क्षमता विकास गरिएको छ। आगामी चरणमा उद्यमहरूले नवप्रवर्तन अनुदान, वित्तीय पहुँच, बजार जडान र लगानी तयारीको अवसर पाउनेछन्। १ वर्षे जिप कार्यक्रममा प्रदेश सरकारको दुई करोड, पाँच स्थानीय तहको प्रत्येक स्थानीय तहको २० लाखको दरले एक करोड तथा दायित्व संस्थाको प्राविधिक र प्रशासनिक सहयोग समेटिएको छ । कार्यशालामा डा.पुकार मल्ल, सञ्जय पोखरेल, स्नेहा शाक्य लगायतले सहजिकरण गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0