पोखरा । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

 निर्वाचन क्षेत्र नम्बर १ का लागि पशुपक्षी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र रामघाट, क्षेत्र नम्बर २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइड र क्षेत्र नम्बर ३ का लागि गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रशासन तथा सहकारी विकास महाशाखाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । क्षेत्र नम्बर ३ को कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको छ । 

कास्कीमा मुख्य निर्वाचन अधिकृतमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ का लागि सीता रेग्मी र क्षेत्र नम्बर २ कालागि निर्मलाकुमारी खड्का निर्वाचन अधिकृत तोकिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय स्थापना पश्चात आयोजित कार्यक्रममा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत बेलबासेले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सम्पन्न गर्नमा सबै पक्षको सहयोग र समन्वय आवस्यक रहेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि बोल्दै उनले यसका लागि राजनीतिक दलहरू खेलाडीको भूमिकामा रहने जनाए । उनले जनताले चुनेका प्रतिनिधिबाट देशको कानुन बन्ने र जनताले अनुभूति हुनेगरि कानुनी शासनको सर्वोच्चता हुने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता कास्कीमा निर्वाचन केन्द्रित सुरक्षा योजना बनाई कार्यान्वयनको चरणमा गइसकेको  बताइन् । निर्वाचनको समयमा कास्कीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १९ सय ७८ जना सुरक्षाकर्मीका साथमा निर्वाचन प्रहरीहरू परिचालन हुने जानकारी दिइन् । निर्वाचन प्रहरीको दरखास्त आह्वान मिति दुई दिन लम्ब्याइएको र हालसम्म १७ सय जनाको दरखास्त प्राप्त भइसकेको जानकारी दिइन् ।  मतदान केन्द्र लक्षित गरी नियमित चेकजाँचको व्यवस्था मिलाइएको पनि उनले उल्लेख गरिन् । राजनीतिक दलहरूसँग आवश्यक समन्वय भइरहेको र सवारी साधनलगायत स्रोत साधनको व्यवस्थापनमा पनि जुटिएको भन्दै उनले गत भदौ २४ मा कास्की कारागारबाट भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीति पनि तय गरिएको जनाइन्

प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आयोगको कार्यतालिका अनुसार आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताए । कार्यक्रमको सञ्चालन कास्की क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले सञ्चालन गरेका थिए । 

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन दर्ता यही माघ ६ गते हुँदै छ । त्यसअअघि निर्वाचन सम्बन्धि कामलाई अघि बढाउन निर्वाचन अधिकृतको कार्यालय खोलेर कर्मचारी पनि पठाउने तयारी गरिएको हो । शुक्रबार कास्की सहित देशभरका सबै १६५ वटै निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना गरिएको हो । आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतर ८८ जना निर्वाचन अधिकृतहरु तोकिसकेको छ । जिल्ला न्यायाधीशहरुबाट मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0