पोखरा।  पोखरा चेम्बर अफ कमर्स कास्कीको स्थापना दिवस एवं नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५औं) वर्ष विशेषाङ्क विमोचन कार्यक्रम सम्पन्न भएको छ ।  गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री बस्यालले देश सङ्घीय संरचनामा गएको ७ वर्ष बितिसक्दा पनि अझै प्रदेश सरकार अधिकार विहीन रहेको बताए । प्रदेशले तयार पारेका नीति नियमहरू सङ्घ सरकारसँग बाँझिदा वर्षौँ लगाएर तयार पारेका विधिविधान निष्कृय गर्नुपरेको बताए । पर्याप्त अधिकार नहुँदा सङ्घ सरकारले आफ्नो ढङ्गले काम गर्न नपाएको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारमा रहेकाबाट मिठा भाषण र प्रतिबद्धता आउने गरेपनि निजी क्षेत्रले भोग्नुपरेको समस्या भने जस्ताको तस्तै रहेको बताए । निजी क्षेत्रको प्रोत्साहन र राहतका लागि ठोस कदम चाल्न नसकेको बताए । निजी क्षेत्र खस्कदैँ जानुमा सरकार र राजनीतिक दलको मात्र दोष नरहेको बताउँदै यसमा उद्योगी व्यवसायीहरू पनि जिम्मेवार बन्नुपर्ने बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बाँस्तोलाले जेनजी आन्दोलनपछि निजी क्षेत्र विषम परिस्थितिबाट गुज्रिरहेको बताए । मुलुक कता जान्छ भन्ने असहज परिस्थितिमा अहिलेको सरकारले निजी क्षेत्रको राहतका लागि केही ठोस कदमहरू चालेकोप्रति केही आशा जागेर आएको बताए । उद्योगी व्यवसायीहरूलाई राज्यको तर्फबाट लगानी गर्ने वातावरण सिर्जना हुन नसकेको र व्यवसायीहरूलाई एकद्वार प्रणालीमार्फत व्यवसाय सञ्चालन गर्ने वातावरण प्राप्त नभएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रमुख भाष्कर दत्त पन्त, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गाना, नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख  शम्भुप्रसाद मिश्र,  पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष  किसान सुनार, नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, स्याङ्जा चेम्बर अफ कमर्सको अध्यक्ष लोकनाथ रेग्मी, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतम, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया,  नेपाल पत्रकार महासङ्घ  कास्कीका अध्यक्ष माधवप्रसाद बराल, नेपाल बैकर्स एसोसिएसन गण्डकी प्रदेश च्याप्टर हरि ढकाल लगायतले बोलेका थिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव गोकर्ण अधिकारी र सह  कोषाध्यक्ष बोधराज सुवेदीले सञ्चालन गरेका थिए । पोखरा चेम्बर अफ कमर्स कास्की २०७५ सालमा स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0