लेखनाथ । लेखनाथ उद्योग वाणिज्य सङ्घले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मूल समारोह समिति गठन गरी विभिन्न उपसमिति;सँगको छलफललाई तीव्रता दिइएको छ ।
महोत्सवमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भइसकेका छन् । कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी र्याली व्यवस्थापन, युवा परिचालन तथा पार्किङ व्यवस्थापन, टोल विकास संस्था समन्वय, महोत्सव सुपरीवेक्षण उपसमितिसँग छलफल तथा अन्तरक्रिया गरिएको र महोत्सव सफल बनाउने विषयमा आआफ्ना तर्फबाट खटेर लाग्ने प्रतिबद्धता व्यक्त भएको सङ्घकी अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुलीले बताइन् ।
महोत्सवका विशेष आर्कषणहरूमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरू, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरू, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरू, विद्युतीय उपकरण, फर्निचरका सामानहरू, भान्छामा प्रयोग हुने मालसामानहरू, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरू, सूचना प्रविधि तथा सञ्चारका उपकरणहरू, लेखनाथ क्षेत्रका गतिविधिहरू, फुड फेस्टिभल, अटोमोबाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक सङ्घ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको बिक्री एवं प्रदर्शनी रहनेछन् ।
यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने महोत्सवका प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भट्टराईले बताए ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्यास कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौँडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।










