पोखरा । किसानलाई परेको समस्यालाई सम्बोधन गर्न माग गर्दै किसानहरूले पोखरामा प्रदर्शन गरेका छन् । अखिल नेपाल किसान महासङ्घ गण्डकीको आयोजनामा पोखरामा मङ्गलबार  भएको किसान सभामा उपस्थित किसानहरूले आफ्ना माग पुरा गर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् । पोखराको मानव अधिकारचोकमा उपस्थित भएका किसान तथा किसान महासङ्घ आवद्ध व्यक्तिहरूले प्लेकार्ड हातमा लिएर किसानलाई पेन्सन दे.., विषादियुक्त तरकारी फलफूल बहिष्कार गरौँ.., विदेशबाट निर्यात गरिएको फलफूल तथा तरकारी बहिष्कार गरौँ…, कृषि उत्पादनको आधारमा अनुदान दे.., प्रदेशको नाकामा क्वारेन्टाइन लागू गर.. लगायतका नारा समेत लगाएका थिए ।

 किसानका सम्पूर्ण माग पुरा गर्नको लागि सरकारलाई दबाब दिन आयोजित सभामा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले किसानको उत्पादनले बजारमा मूल्य पाउन नसकेको बताए । महासङ्घले उठाएको प्रदेशमा कृषि क्वारेन्टाइन लागू गर्ने कुरा र  विदेशबाट आयातित फलफूल तथा तरकारी बिक्री वितरणलाई रोक लगाउने कुरा जायज भएको उल्लेख गरे । सरकारले किसानका पक्षमा किसानका उपजको समर्थन मूल्य तोकेर बजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । तीन तहका सरकारले आ-आफ्नो भूमिका निभाउने हो भने किसानको उत्पादनले बजार पाउन सहज हुने बताए । विषादी रहित बस्तुको उत्पादन गर्ने किसानले उचित मूल्य पाउनुपर्ने उनले उल्लेख गरे ।

सचिव दवाडीले जलवायु परिवर्तनले सबैभन्दा बढी मारमा परेको किसान भएको भन्दै गएको महिना बेमौसमी वर्षाका कारण जे जति क्षति भएको छ त्यसको पूर्ति सरकारले गर्नुपर्ने बताए । कृषि क्षेत्रबाट पलायन भएको जनसङ्ख्यालाई रोक्नको लागि बाझो रहेको जमिनमा खेती गर्न उत्प्रेरित गर्नको लागि पनि सरकारले किसानलाई सहज हुने खालको कृषि नीति ल्याउँनुपर्नेमा जोड दिए । किसानलाई राहत, अनुदान तथा पेन्सनको व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

अखिल नेपाल किसान महासङ्घ गण्डकी अध्यक्ष गोवर्धन गौलीले किसानको आवाज बुलन्द पार्नको लागि किसान सभा गरिएको बताए । देशमा विभिन्न परिवर्तन भएपनि नेपाली किसानको समस्या जिउका तिउँ रहेको उनको दावी थियो ।  हिजो भन्दा आज नेपाली किसान झन सङ्कटमा रहेको उनले औँल्याए ।  हिजोको सरकारले बाहिरबाट आउने कृषि उपजको कर बढाउदा कम आउने गरेपनि अहिलेको सरकारले त्यस्तो कर घटाउँदा नेपाली किसानले उत्पादन गरेका चिजहरू कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।

किसान सभामा अखिल नेपाल किसान महासङ्घका स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज चुडामणि बराल र गण्डकी सचिव महेश्वर दवाडी लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0